काठमाडौं । नेपालकै पहिलो केबलकार मनकामना केबलकार मर्मत सम्भारपछि आज विहीबारदेखि नियमित सञ्चालनमा आएको छ । मर्मतका लागि ४ दिनदेखि बन्द रहेको यो केबलकार आजदेखि सञ्चालनमा आएको हो ।
स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । उक्त केबलकारको अष्ट्रियाली प्राविधिकको सुपरीवेक्षणमा मर्मत सम्भार गरिएको छ ।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गरिएको हो ।
कम्पनीले चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना बनाएको छ । कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ । यो सबै स्तरोन्नतिसँगै भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ ।