१३ बैशाख २०८१, बिहिबार

काठमाडौँको रत्नपार्कमा गरियो १८ औँ ‘काग सम्मेलन’


काग सम्मेलन फाइल फोटो

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गरेका हुन् ।

यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु भएको छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दसैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ ।

यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ । दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !