६ पुस २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मतको लिंदै


भीम आचार्य

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिैदैछन् । आज बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासका मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने भएको छ ।

आज साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै विश्वासका मत विभाजन गर्ने कार्यसूची रहेको छ । गत कात्तिक ७ गतेको लागि तोकिएको बैठकमा मत विभाजन हुने तय भएतापनि नेपाली कांग्रेस र एमालेले निवेदन दर्ता गराई बैठक सार्न माग गरेपछि आजको लागि बैठक सारिएको थियो ।

विपक्षी गठबन्धनले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेका छन् ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य पहिले संसदीय दलको नेता र सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।

९२ सदस्य रहेको प्रदेशसभामा वहुमतको लागि ४७ जना सांसद चाहिन्छ । एमालेसँग ४१ जना सांसद रहेका छन् । सभामुख र एक जना फरार सूचीमा रहेकोले आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त आउने अवस्था रहेको छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१ जना, माओवादी केन्द्रसँग १५ जना, नेकपा एकीकृत समाजवादीसँग १० जना, जसपासँग ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १ जना सांसद रहेका छन् । १ जना मात्र सांसद रहेको राप्रपाले अहिलेसम्म कुनै कित्ता क्लियर गरिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !