जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर Nepalpatra जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
१८ मंसिर २०७८, शनिबार

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर


इलाका प्रहरी कार्यालय रामपुर

रामपुर (पाल्पा) । इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।

द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै नमिल्ने अवस्था छ । सबै कोठा चर्किएका छन् । कार्यालय भवन दुईतला छ कोठासहितको छ । यो पनि बस्न लायकको छैन । तैपनि भवन अभावमा काम चलाउका रुपमा दुःखले प्रयोग गरिएको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्तिकोषबाट रु ३५ लाख ९२ हजार ३६० सहयोगमा निर्मित भवन विसं २०६८ मङ्सिर १९ गते समुद्घाटन गरी प्रयोगमा ल्याइएको छ । सो भवन एक तले तीन कोठाको छ । प्रहरी हबल्दार र जवान ब्यारेकका रुपमा प्रयोग गरिएको छ ।

थुनुवाका लागि एकवटा अस्थायी कोठा छ । महिला थुनुवाका लागि कार्यालय प्रमुखको कार्यकक्ष प्रयोग गर्नुपर्ने अवस्था छ । महिलाका लागि छुट्टै थुनुवा कक्ष नहुँदा अप्ठ्यारो स्थिति रहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो । “भवन चुहिने समस्या छ, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष छैन, महिला थुनुवालाई कार्यालय प्रमुखको कार्यकक्षमा महिला प्रहरी खटाएर राख्ने गरिएको छ, यस कार्यालयको कार्यक्षेत्र र जनघनत्व ठूलो छ,” उहाँले भन्नुभयो ।

कार्यक्षेत्र ठूलो रहेको हुँदा पनि दैनिक विभिन्न घटना प्रहरीमा आउने गर्छन् । भवन जीर्ण र अभावमा विभिन्न घटनामा सम्बन्धित व्यक्तिलाई अनुसन्धानमा समस्या छ । कालीगण्डकी करिडोर सडकखण्डमा हाल दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् । व्यस्त बन्दै गरेको रामपुरका मुख्य बजार बेझाड, किसानवारी, विजयपुर जस्ता बजारहरु, सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निरीक्षकको दरबन्दी रहेको यस कार्यालयमा २६ जनाको दरबन्दी कायम छ । हाल भने यहाँ ३७ जना कार्यरत छन् । रामपुर नगरपालिकासहित निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका–१ सिलुवा यस कार्यालयको क्षेत्र पर्छ ।

इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा रहेको छ । पूर्वी पाल्पामा जनघनत्व बढ्दै जानु र अहिले कायम रहेको प्रहरी निरीक्षकको दरबन्दीको स्तरोन्नतिको माग स्थानीयवासीले गरिरहेका छन् । यस कार्यालयको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले प्रहरी नायबर उपरीक्षकको दरबन्दी र मुद्दा दर्ता लगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि स्थानीयवासीले सम्बन्धित निकायमा दबाब दिइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईसमक्ष पनि यहाँका जनप्रतिनिधि, सरोकारवाला नागरिक, राजनीतिक दलले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका छन् । प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दाहरु रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताउनुभयो । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपका लागि पहल भइरहेको उल्लेख गर्दै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्यसमेत गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को समन्वयमा महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सम्बन्धित निकायले स्थलगत अध्ययन अवलोकन गरिसकेको छ ।

एडिबीले नेपालका विभिन्न दस स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको टोलीले भवनका लागि कम्तीमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको छ । दस स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !