२१ बैशाख २०८१, शुक्रबार

२५ मुलुकका बौद्ध अनुयायी नेपालमा


buddha-jayanti

लुम्बिनी: नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ थिममा बिहीबारदेखी काठमाडौंमा हुन लागेको दुईदिने अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भुक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् ।

२५६० औं बुद्ध जयन्ती समारोह तथा अन्तराष्ट्रिय बौद्ध गोष्ठी कार्यसमितिका अध्यक्ष पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले बुधबार राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौंमा हुने दुई दिने गोष्ठी र शनिबार लुम्बिनीमा मनाइने २५६० औं बुद्ध जयन्ती समारोहको तयारी पूरा भएको बताए ।

उनले यी दुबै कार्यक्रममा भाग लिन भारत, चीन, कोरिया, जापान, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, दोहा, वर्मा, मंगोलिया, भुटान, अष्ट्रेलिया, थाइल्याण्डबाट प्रतिनिधीहरु आएको बताए । आयोजकका अनुसार गोष्ठीमा भाग लिन श्रीलंका र थाइल्याण्डबाट पर्यटन मन्त्री आइपुगेका छन् ।

चीनले गोष्ठीकालागी बुद्धिष्ट एशोशिएसनका भाइस प्रेसिडेन्टसहितको टोली नेपाल पठाएको छ । एशोशिएसनका भाइस प्रेसिडेन्ट वाङ्ग ली अन्य बौद्ध भिक्षु र प्राज्ञसहित काठमाडौं ओर्लिसकेका छन् । पर्यटनमन्त्री पोखरेलले भारतले राजदुत रन्जित रायको नेतृत्वमा ५ सदस्यीय सरकारी टोलीलाई गोष्ठीका लागी पठाएको बताए । उनले भारतबाट केही प्रकाण्ड भिक्षु र प्राज्ञहरु पनि सामेल हुन लागेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मथलो नेपाल भएको बताइसकेपनि उनले बुद्धत्व प्राप्त गरेको स्थान, पहिलो शिष्य, बुद्धिजमको शूरुवात, जन्मथलो लगायतका बुद्धसँग जोडीएका विषयमा विवादास्पद भ्रमहरु बेलाबेला सार्वजनिक भइरहेकाबेला भारतीय प्रतिनिधीहरुको सहभागीलाई चासोपूर्वक हेरीएको छ ।

बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गराउने लक्ष्य राखिएको गोष्ठीमा ५ सय हाराहारी प्रतिनिधी सहभागी हुने आयोजक समितिका सदस्य तथा पासाङ्ग ल्माहु फाउण्डेशनका महासचिव बच्चु श्रेष्ठले बताए । दुई दिने कार्यक्रममा बौद्ध दर्शनसँग सम्बन्धित कम्तीमा १८ विदेशी र ६ नेपाली विद्धानहरुका कार्यपत्र प्रस्तुत हुदैछन् । गोष्ठीबाट निस्किएको निश्कर्षलाई शनिबार लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा घोषणापत्रमार्फत जारी गरिने छ । मन्त्री पोखरेलले उक्त घोषणा पत्र कार्यान्वयनकालागी अन्तराष्ट्रियस्तरको संयन्त्र निर्माण गरी कार्ययोजनासहित जारी गरिने भने । उनले गोष्ठीको उदेश्य लुम्बिनीको अतिरिक्त अन्य बौद्ध केन्द्रहरु तिरौलाकोट, देवदह, रामग्रामको समेत प्रचारप्रसार र विकासमा आधार निर्माण गर्ने, आन्तारिक बुद्ध सर्किट निर्माणसहित धार्मिक पर्यटनको विकास गराउने रहेको बताए । काठमाडौंमा हुने गोष्ठीको उद्धघाटन मुल आयोजक समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन भने लुम्बिनीमा मनाइने बुद्धजयन्ती समारोहको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैबिच नेपाल सरकारले यो कार्यक्रमकालागी ४ करोड रुपैया विनियोजन गरेको छ । यसमा कुनैपनि दातृ निकायको आर्थिक सहयोग नरहेको बताइएको छ । मन्त्री पोखरेलले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नेलाई हवाई टिकट सहित ४० जना विशिष्ठ व्यक्तिहरुको लजिस्टीक सहयोग मात्रै नेपाल सरकारले गर्ने बताए । अन्य सहभागी विज्ञ, भिक्षु लगायतका प्राज्ञ आ-आफ्नै खर्चमा नेपाल आएको र लुम्बिनी पनि उनीहरुकै खर्चमा जाने आयोजकले भनेको छ ।

दुईपटक बौद्ध धर्मबारे शिखर सम्मेलन गरिसकेको नेपालले धर्म निरपेक्ष लेखिएको नया संविधान जारी पछी हुन लागेको यो कार्यक्रम पहिले भन्दा भिन्न र उपलब्धिमूलुक हुने दाबी सरकारको छ । यो कार्यक्रमको मुख्य उदेश्य बुद्धिजम नेपालबाटै शूरु भएको सन्देश विश्वभर फैलाउनु हो । यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनलाई पनि यो कार्यक्रममा निम्तो दिन अमेरिका पुगेका पर्यटनमन्त्री पोखरेलले केही दिनपछी इस्तानबुलमा हुने मानवअधिकार सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने भएकाले महासचिव मुनले सन्देशसहित प्रतिनिधी पठाएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !