काठमाडौँ । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका छन । अफगानी मूलका नागरिक गैरकानुनी रूपमा काठमाडौँमा बसिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।
अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बताएको छ ।आखिर कसरी कुन बाटो हुँदै ती ११ जना अफगानी शरणार्थी नेपाल छिरे ? भन्ने जिज्ञाषा बढेको छ । आउनुहोस् यसवारेमा चर्चा परिचर्चा गरौ ।
तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । ३ जना महिला र ८ जना पुरुषलाई आज बिहान पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ ।
पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड समेत बरामद भएको सिआईबीले जनाएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताएका छन् ।
ती अफगानी नागरिकहरू स्थलमार्ग हुँदै नेपाल छिर्ने गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । उनीहरु रुपन्देहीको भैरहवास्थित सुनौली नाका हुँदै नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले थप अनुसन्धान भइरहेको जानकारी दिए । नेपाल आएका ११ जनामध्ये ६ जना ३ हप्ताअघि नेपाल प्रवेश गरेका थिए भने बाँकी ५ जना भने ३ दिन अघि काठमाडौं आइपुगेको डीआईजी सिंहले जानकारी दिए ।
नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले ढिलो मात्र पाएको खुलेको छ । हिजो आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।