४ असार २०८१, सोमबार

रसुवामाइको मन्दिर पुनःनिर्माण गर्न माग


पलाञ्चोक भगवती मन्दिर

रसुवा । रसुवागढीको सीमा क्षेत्रमा अवस्थित रसुवामाइको मन्दिर निर्माण गर्न भक्तजनले माग गरेका छन् । नेपाल–चीनबीचको सीमास्थित लेहेन्देखोला र भोटेकोशी सङ्गमस्थल ऐतिहासिक गढीको पर्खाल फेदमा रहेको रसुवामाइको दर्शन गर्ने स्थानीयवासीले पूजाआजामा सहज पार्न मन्दिर निर्माण गर्न आग्रह गरेका हुन् ।

नेपाल तिब्बत्बीच युद्धका समयमा मन्दिर स्थापना र पूजाआजापछि रसुवामाइको बरदानबाटै नेपालीले तिब्बती फौजलाई परास्त गर्न सफल भएको विश्वास गरिन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको रसुवागढी क्षेत्रमा अवस्थित रसुवामाइको मन्दिर पुनःनिर्माण गरिदिन सरोकार निकायलाई आग्रह गरिएको रसुवा भन्सारका पूर्वप्रमुख अधिकृत रामप्रसाद रेग्मी बताउनुहुन्छ ।

तीनतिर होचो जीर्ण पर्खालको गारोभित्र मन्दिर अवस्थित रहेकाले एक पटकमा एक भन्दा बढीले दर्शन गर्न असहज हुने गरेको दर्शनार्थी बताउँछन् । रसुवागढीबाट चीनसँगको व्यापारिक कारोवार सुरु भएदेखि नै दिनप्रतिदिन मानिसको चहलपहल बढ्दै गएको छ । रसुवागढी पुगेका सबै मानिस रसुवामाइको दर्शन गरेर मात्र फर्कने गरेको बताइन्छ ।

विसं १८४८ तिरै रसुवामाइ स्थापना भएको आकलन गर्दै पूर्वप्रशासक एवं इतिहासकार रेशमबहादुर पाण्डेले ऐतिहासिक धरोहर क्षेत्रमा पुरातत्व विभागले विशेष ध्यान दिन जरूरी रहेको बताउनुभयो ।

विसं २०७२ को भूकम्पको असरले मन्दिरलाई घेरिएको तीनतिरको पर्खालसमेत जीर्ण भएको जनाउँदै स्थानीय बासिन्दाले विगतमा पुनःनिर्माण प्राधिकरणले समेत मन्दिर निर्माणमा बेवास्ता गरेको गुनासो गरेका छन् । भूकम्पले असर पु¥याएको रसुवागढीको किल्लालाई पुरातत्व विभागले मर्मत गराए पनि संँगै रहेको रसुवामाइको मन्दिर निर्माणमा ध्यान नपुग्दा पूजाआजामा असहज बन्दै गएको भक्तजन बताउँछन् ।

मन्दिर नजिकै सीमा एवं भन्सार सुरक्षाको भवन तथा भन्सार कार्यालयसमेत निर्माणाधीन रहेको र सो कार्यालयले गढीक्षेत्रबाट कार्यालय सञ्चालन गरेपछि बढ्न सक्ने भक्तजनको चापलाई ध्यानमा राखी आस्थाको धरोहर मन्दिर निर्माणलाई प्राथमिकता दिन स्थानीय बासिन्दाले सुझाव दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !