१३ बैशाख २०८१, बिहिबार

सप्तरीमा अविरल वर्षाका कारण बाढीले १५० घर डुबानमा


तिलाठी फाइल फोटो

राजविराज । दुई तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले १५० घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले राससलाई जानकारी दिए ।

उनले भने,“तिलाठी कोइलाडी–५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घर डुवानमा परेका छन् । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।”

सोही गाउँपालिकाकै– ४ कोइलाडीस्थित भीमा नदीको बाढीले समेत पुलको दक्षिणतर्फको विङवालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको जानकारी दिँदै बाढीका कारण यहाँ भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको बताए ।

तिलाठी कोइलाडी-८ तोपास्थित उत्तरतिरको टोलमा समेत पानी पसेर घर डुवान भएको बताइएको छ । यस्तै हनुमानगर कङ्कालिनी र राजविराज नगरपालिका क्षेत्र समेत डुबानमा परेको पाइएको छ । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी बस्तीमा बाढी पस्दा बस्ती नै जलमग्न भएका छन ।

हनुमाननगर कङ्कालिनी–३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करिब २० मिटर बाँध भत्काएर बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडामा बाढी र वर्षाको पानीले डुबान गरेको छ ।

राजविराजस्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयमा पानी पसेको छ भने सिरहा रोड, खर्साल टोलसहितका ठाउँमा बाढीको भेल बगिरहेको छ । निरन्तरको वर्षाले आएको बाढीले सप्तरीमा आठ चौपाया बगाएको छ ।

प्रहरीका अनुसार सप्तकोशी नगरपालिका– ९ स्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा गाईबस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ती चौपाया बगाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !