८ बैशाख २०८१, शनिबार

महाकाली नदीमा एक भारतीय नागरिक मृत फेला


मृत्यु

बैतडी । महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् ।

ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ । शवको परीक्षण पनि भारतमै गरिने बताइएको छ ।

ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !