८ बैशाख २०८१, शनिबार

पूर्व महिला सभासद्‌लाई कुटपिट, स्थिति चिन्ताजनक


गौशाला—महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ। कुटाइबाट घाइते भएकी उनको अवस्था चिन्ताजनक छ।
जिल्लाको लक्ष्मिनियाँ गाविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८-१० जनाको समूहमा आएको व्यक्तिले मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए। घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका व्यक्तिहरुको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको छ।

गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थिए। अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले बताए।

उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा छिन्। उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए। सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन। जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !