१४ बैशाख २०८१, शुक्रबार

७० करोडको लागतमा यस्तो बन्ने भयो काठमाडौं महानगरपालिकाको भवन


काठमाडौं महानगरपालिकाको भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित आफ्नै जग्गामा मुख्यालय भवनका लागि हिजो सोमबार शिलान्यास गरेको छ । हाल वातावरण व्यवस्थापन विभाग रहेको जग्गामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए ।

करिब ६ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन ३ हजार ८३ दशमलव ८२ क्षेत्रफलमा निर्माण हुनेछ । भवनमा १० व्यक्ति तान्ने क्षमताका दुईवटा लिफ्ट जडान हुनेछन् । भवन आगामी २०८० साल असोज मसान्तसम्ममा निर्माण भइसक्ने बताइएको छ ।

समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपियाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन शहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले तयार पारेका हुन् ।

करिब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ गर्न सकिने पनि बताइएको छ ।

भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुला ठाउँ र मौलिक वास्तुशैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालय, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ ।

भवनमा आकाशेपानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभाकक्ष निर्माण गरिने जनाइएको छ ।

महानगरले १९ वर्षपछि आफ्नै भवन निर्माण शुरु गर्न लागेको हो । नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि महानगरले हाल बसेको बाघदरबार भवनको स्वामित्व पाएको थियो ।

महानगरले करिब १० करोड रुपियाँ लागतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि सरकारको स्वामित्वमा रहेको सो भवनको भोगचलन गर्ने अधिकार पाएको थियो । २०७२ सालको शक्तिशाली भूकम्पका कारण बाघदरबार क्षतिग्रस्त भएपछि महानगर हालको जेडिए भवनमा सरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !