११ पुस २०८१, बिहीबार

कालीगण्डकीको प्राकृतिकस्वरूप नासिँदै


गलेश्वर । कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ ।शालिग्राम पाइने एकमात्र बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन ल्याएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साघुरो भएकाले विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्ने गरिएको छ ।

यहाँ सामान्य वर्षा हँुनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नाका साथै बाटोसमेत बगाएर कालीगण्डकीमा मिसिने गरेको छ । सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको अन्नपूर्ण गाउँपालिका– ५ का रमेश पुन बताउनुहुन्छ ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरु बताउँदछन्।
डोजर र स्काभेटरले जथाभाबी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गालगायत पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नाका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएकाले नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरुले बताउँदै आएका छन् ।

सर्वोच्च अदालतले गत साउनमा नदी उत्खनन, फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरे पनि चोरी निकासी भने अझै रोकिएको छैन । पछिल्लो समय मानवीय अतिक्रमणका कारण सङ्कुचित हुँदैगएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन तथा कविता शृङ्खला ‘नदी सप्तक’ अभियानसमेत गर्दै आएका छन् ।

यति हुँदा पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र दुर्लभ शिला शालिग्रामका साथै नदीजन्य पदार्थको चोरी निकासी भने रोकिएको छैन । जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्न सक्ने बताइएको छ ।

नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी ईन्द्रमान शेरचन बताउनुहुन्छ । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ ।

नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका सो आदेश जारी गरेको हो ।

नदीको सौन्दर्यलाई क्षयीकरण हुन नदिन युवाको समूहले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान पनि गर्दै आएको छ । उक्त अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ ।

अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहन विरुद्ध लक्षित छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कवितालाई आधार बनाएर शङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !