८ मंसिर २०८१, शनिबार

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’


गोल्छा परिवार कर छली

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । 

कानूनी छिद्रको प्रयोगबाट गरिएको लगानी होस् वा गैरकानूनी रूपमा अफशोर कम्पनी मार्फत गरिएको कारोबार होस्; त्यसको नकारात्मक असर सामान्य नागरिकसम्म पुग्छ भन्ने एउटा गतिलो उदाहरण हो — गोल्छा परिवारका पाँच जना सदस्यको समेत स्वामित्वमा रहेको इष्टर्न सुगर मिल्स । गोल्छा परिवारका केही सदस्यहरूको लगानीमा खोलिएको अफशोर कम्पनी समेतको स्वामित्वको यो मिल्सले लामो समयदेखि उखु किसानलाई भुक्तानी गरेको छैन ।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार गोल्छा परिवारका केही सदस्यहरूले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिश भर्जिन आइल्याण्डमा आफ्नै नाममा कम्पनी खोल्ने, त्यसैबाट नेपालस्थित आफ्नै कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने गरेको भेटियो । गोल्छा परिवारका लोकमान्य गोल्छा, हाल दिवंगत भइसकेका उनका दुई भाइहरू, उनका काकाका छोरा चन्द्रकुमार गोल्छा र भतिजा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा ‘फ्ल्याटउड लिमिटेड’ नामक कम्पनी छ । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ । नेपालको कानून अनुसार यो काम सोझै गैरकानूनी र दण्डनीय मानिन्छ ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्ड अनुसार उक्त कम्पनी मार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा लोकमान्य, उनका एक जना दिवंगत भाइ र भतिजा हितेश गोल्छालाई कम्पनीले निर्णय गरेर अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ । फ्ल्याटउड लिमिटेड नामक कम्पनी मार्फत लोकमान्य गोल्छा लगायतको समूहले सन् २००८ मा नेपालको इष्टर्न सुगर मिल लिमिटेडको शेयर खरीद गर्ने निर्णय गरेको भेटिएको छ ।

फ्ल्याटउड लिमिटेड कम्पनी मार्फत गोल्छा परिवारका सदस्यहरूले सन् २००८ मा नेपालको सुनसरीको अमही बेल्हास्थित इष्टर्न सुगर मिल्स लिमिटेडको शेयर खरीद गरेको हो । यो कम्पनीले मिलको १३१७.५०० कित्ता शेयर खरीद गरेको पाइएको हो । तर, १५ फेब्रुअरी २००८ मा फ्ल्याटउड लिमिटेडले आफूसँग रहेको मिल्सको ३८४.१६६ कित्ता शेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ ।

लोकमान्य गोल्छा र हितेश गोल्छा ।

फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्र अनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिलमा ९३३.३४४ कित्ता शेयर रहेको थियो । सोही पत्र अनुसार फ्ल्याटउडले हुलास मेटललाई मिलबाट २८८.१२५ कित्ता अतिरिक्त राइट शेयर खरीद गर्ने गरी जिम्मा दिएको देखिन्छ । हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेशनभित्रकै कम्पनी हो । कम्पनी रजिष्टारको कार्यालयको दस्तावेज अनुसार हुलास मेटल गोल्छा परिवारका १८ जनाको नाममा दर्ता छ ।

खासगरी आफ्नै अफशोर कम्पनीबाट नेपालको इष्टर्न सुगर मिल्सको शेयर खरीद गरेका गोल्छा परिवार सदस्यहरूले लामो समयसम्म उखु किसानलाई समयमा भुक्तानी नदिएर दुःख दिएका थिए । नेपालको आर्थिक अनलाइन बिजमान्डूमा २८ जून २०२० मा प्रकाशित एक समाचार अनुसार श्रीराम र इष्टर्न सुगर मिल्समा गोल्छा समूहको लगानी छ । समाचारमा बताइए अनुसार इष्टर्न सुगर मिल्स कहिल्यै नाफामा गएन, सधैं घाटामा रह्यो । लामो समयदेखि घाटामा रहेपछि अहिले नेपालको विशाल ग्रुपले समेत लगानी गरेको छ ।

नारायणचौर काठमाडौंस्थित गोल्छा समुहको मुख्य कार्यालय । तस्वीरः विजय गजमेर/खाेपके

कम्पनी रजिष्ट्रारको कार्यालयको विवरण अनुसार इष्टर्न सुगर मिल्समा २०७४ पुस ५ गते विशाल ग्रुप अन्तर्गतका उद्योगीहरूको प्रवेश भएको हो । विवरण अनुसार अशोककुमार अग्रवाल, अनुज अग्रवाल, विशाल अग्रवाल, अर्पित अग्रवाल, निकुञ्ज अग्रवाल, नितेश अग्रवाल, विवेश अग्रवाल, ललितकुमार अग्रवाल, मुकेश अग्रवालले गोल्छा परिवारबाट इष्टर्नको शेयर लिएका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयको विवरण अनुसार इष्टर्न सुगर मिल्समा गोल्छा परिवारका लोकमान्य, आकाश, राज्यलक्ष्मी, राजकुमार, दिनेश, हितेश, हिमांशु गोल्छाको लगानी अहिले पनि छ । यसबाहेक ब्रिटिश भर्जिन आइल्याण्डमा गोल्छा परिवारको पाँच जनाको नाममा दर्ता रहेको फ्ल्याटउड लिमिटेडको पनि शेयर छ । जसको प्रवेश २०६४ पुस ५ गते भएको हो । यसबाहेक इष्टर्न सुगरमा हुलास वायर इण्डष्ट्रिज लिमिटेड, पूजा इन्टरनेशनल नेपाल प्रालि, युनाइटेड डिष्ट्रिव्यूटर नेपाल कम्पनीहरूको समेत लगानी रहेको देखिन्छ ।

यो त्यही चिनी मिल हो, जसले २०७५ पुसमा किसानलाई तोकेको उखुको मूल्य दिन अस्वीकार गरेको समाचारहरू प्रकाशित भएका थिए । सरकारले २०७४ सालमा प्रति क्वीन्टल चिनीको मूल्य ५३० रुपैयाँ तोकेको थियो । तर, हितेश गोल्छा सञ्चालक रहेको यो चिनी मिलले सरकारले तोकेको भन्दा कम मूल्य दिएपछि झापा, मोरङ र सुनसरीका उखु किसान पटक–पटक आन्दोलनमा उत्रिनु परेको छ ।

प्रदेश–१ अन्तर्गत सुनसरी र मोरङ जिल्लामा बढी उखु खेती हुने गरेकोमा त्यहाँका किसानले उत्पादन गरेको उखु इष्टर्न सुगर मिल्सले खरीद गर्दै आइरहेको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार २०७३ भदौमा उखु बुझाए पनि मिलले भुक्तानी नदिएको भन्दै किसानले तालाबन्दी गरेका थिए । उनीहरूले उखुको तत्काल भुक्तानी दिनुपर्ने, उखुको मूल्य समयानुकूल हुनुपर्ने र किसानलाई अनुदान दिनुपर्ने लगायतको माग राख्दै मिलमा तालाबन्दी गरेका थिए । त्यसबेला किसानहरूले बताए अनुसार उक्त मिलबाट उखु बिक्री बापत करीब ४० करोड ६६ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी थियो ।

२६ चैत २०७४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीले उखु किसानको भुक्तानी नगर्ने इष्टर्न सुगर मिल्सका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई पक्राउ गरेको थियो । नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार किसानलाई भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । त्यसबेलासम्म मिल्सले किसानलाई ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । पक्राउ परेको दुई दिनपछि मात्र उद्योगले किसानलाई भुक्तानी दिन थालेको थियो ।

१० चैत २०७४ मा कृषि मन्त्रालय, उद्योग मन्त्रालय, उखु किसानका प्रतिनिधि र चिनी मिल सञ्चालक सहभागी बैठकमा उद्योगीहरूले २२ चैतमा समयतालिका सार्वजनिक गरेर भुक्तानी शुरू गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता अनुसार इष्टर्न सहित चिनी मिलले भुक्तानी नदिएपछि प्रहरीले पक्राउ गर्न थालेको थियो ।

‘किसानलाई गरीब बनाउने षडयन्त्र’

सुनसरीको हरिनगर–७ का उखु किसान चेतनारायण महतो (६५) को आम्दानीको स्रोत उखु खेती हो । उनले उखु उत्पादन गर्ने र इष्टर्न सुगर मिललाई बिक्री गरेर कमाएको रकमले परिवार पाल्दै आएका छन् । तर उक्त मिलले समयमा र सरकारले तोकेको रकम नदिएपछि २०७७ सालसम्म आफू जस्ता धेरै किसानको हातमुख जोड्ने बाटो बन्द भएको महतोले खोज पत्रकारितासँगको कुराकानीका क्रममा बताए ।

“मिलले पहिला दुई वर्षसम्मको उखुको रकम भुक्तानी दिंदैनथ्यो । तर हामीले उखु खेती गर्न साहूबाट ऋण लिने गरेका छौं” उनी भन्छन्, “एकातिर ऋण लिएर खेती गर्नुपर्ने अर्कोतिर मिलले समयमा भुक्तानी नदिनाले हामी मर्कामा परेका थियौं ।” महतो अहिले पनि ऋण लिएरै उखु खेती गर्नु परेको बताउँछन् । उनका अनुसार अहिले किसानहरूले इष्टर्न सुगर मिल्सबाटै ऋण लिएर उखु खेती गरिरहेका छन् ।

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) सँग कुरा गर्दै उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय त्यसबेला (२०७७ माघमा) इष्टर्न सुगर मिल्सले किसानहरूलाई सरकारले तोके अनुसार उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनु परेको बताए । राय समयमा भुक्तानी नदिने उद्योगीलाई सरकारले कारबाही गर्न नसकेको बताउँछन् । “यो उद्योगी र सरकारी अधिकारीबीचको मिलेमतोमा किसानलाई झन् गरीब बनाउन गरिएको षडयन्त्र हो,” उनी भन्छन्, “त्यसैले अहिलेसम्म किसानले चिनी मिलबाट पूरा रकम भुक्तानी पाएका छैनन् ।”

इष्टर्न चिनी मिल । तस्वीरः राजीव कुशवाहा

उखुको पूरा रकम भुक्तानी नपाउँदा किसानलाई बाँच्नै धौ धौ भएको, औषधि उपचार गर्न नपाएको, राम्ररी चाडपर्व मनाउन नपाएको, बालबालिकालाई पढाउन नसकेको र घरखर्च चलाउन समस्या भोगिरहेको उनको गुनासो छ । रायका अनुसार चिनी मिलले दिएको थोरै पैसा साहूबाट लिएको ऋणको ब्याज तिर्दैमा खर्च हुन्छ । “उखु खेती गर्ने करीब ७५ प्रतिशत किसानले खेतीकिसानी गर्न ३६ प्रतिशतसम्म ब्याजमा ऋण लिन्छन्” उनी भन्छन्, “बैंकले सुलभ दरमा किसानलाई ऋण नदिंदा हामी गाउँकै साहूमहाजनबाट चर्को दरमा ऋण लिन बाध्य हुन्छौं । तर उखु बिक्री बापत चिनी मिलबाट समयमा पूरा रकम नपाउँदा हामी ब्याजमा डुब्छौं ।’

उखु किसानले दिएको अल्टिमेटम अनुसार सरकारले उद्योगीबाट पूरा रकम दिलाउन नसकेका कारण अब उद्योगमन्त्री नियुक्त भएलगत्तै काठमाडौंकेन्द्रित आन्दोलन चर्काउने रायको चेतावनी छ ।

अफशोर कम्पनीबाट यसरी लगानी भित्र्याइयो

गोल्छा अर्गनाइजेशन नेपालकै पुरानो औद्योगिक घराना हो । लोकमान्य सहित अफशोरमा संलग्न उनका दुई दिवंगत भाइ तथा चन्द्रकुमारका बुबाहरू दाजु–भाइ हुन् ।

सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ भनेर चर्चित ब्रिटिश भर्जिन आइल्याण्डबाट सबैभन्दा पहिला विदेशी लगानी भित्र्याउनेमा गोल्छा परिवारका सदस्यहरू पर्छन् । ‘यो अर्गनाइजेशनले नवलपरासीको नेपाल बोर्डस् लिमिटेड उद्योगमा फ्ल्याटउड लिमिटेड कम्पनी मार्फत विदेशी लगानी भित्र्याएको हो’ नेपालिक्समा भनिएको छ– ‘गोल्छा अर्गनाइजेशनले साजसज्जाका लागि प्रयोग गरिने काठका सामग्री बनाउने उद्योगका लागि २०५० सालमा २ करोड ८८ लाख ६८ हजार ७८० रुपैयाँ विदेशी लगानी भित्र्याउने अनुमति लिएको थियो ।’

यसरी हेर्दा फ्ल्याटउड लिमिटेडबाट उनीहरूले नै नेपालमा सञ्चालन गरेका तीन वटा कम्पनीमा विदेशी लगानी ल्याएको देखिन्छ । अफशोर कम्पनीमा लगानी गरेका लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरण अनुसार हाल उनी हंसराज हुलासचन्द एण्ड को, हुलास वायर इण्डष्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायत कम्पनीहरूमा संलग्न छन् ।

अफशोर कम्पनीको समेत स्वामित्व रहेको इष्टर्न सुगर मिल्सले विवादास्पद कर फस्र्योट आयोगबाट समेत भारी कर छूट लिएको छ । खोपकेले नै ३१ असार २०७४ मा गरेको अर्को एक खुलासा अनुसार इष्टर्न सुगर मिलले ५ करोड २१ लाख रुपैयाँ बराबर कर बुझाउनुपर्ने थियो । तर त्यसमध्ये ४ लाख रुपैयाँ मात्रै सरकारी ढुकुटीमा जम्मा गरेर बाँकी रकम छूट दिने निर्णय तत्कालीन कर फस्र्योट आयोगले गरेको थियो ।

यही निर्णयमा संलग्न आयोगका अध्यक्ष लुम्बध्वज महत, चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा विरुद्ध अहिले पनि विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा चलिरहेको छ ।

इष्टर्न सुगर मिल्स र हुलासमा फ्ल्याटउडले लगानी गरेको लोकमान्य गोल्छाले स्वीकार गरे । “त्यो धेरै पुरानो कुरा भएकाले डिटेल थाहा पनि छैन । मैले इण्डष्ट्री हेरेको छैन । त्यो मेरो भाइ दिवाकरले हेथ्र्यो”, उनले भने । तर ब्रिटिश भर्जिन आइल्याण्डस्थित फ्ल्याटउडमा गोल्छा परिवारका सदस्यहरूको नाममा दर्ता भएको बारे थाहा नभएको उनको प्रतिक्रिया छ । “त्यहाँ विदेशीको लगानी हुनसक्छ । फ्ल्याटउड विदेशीको कम्पनी हो” लोकमान्यले भने, “अहिले इष्टर्न सुगर मिल दिवाकरको भागमा छ । यसबारे दिवाकरका छोरा हितेशलाई थाहा हुनसक्छ ।”

त्यसपछि खोपकेले हितेश गोल्छालाई फोन तथा म्यासेज मार्फत सम्पर्क गर्ने प्रयास गरे पनि उनी उपलब्ध हुन सकेनन् ।

साभार : खोज पत्रकारिता केन्द्रको रिपोर्ट

यो पनि पढ्नुहोस्

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

‘ट्याक्स हेभन’ मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !