१९ असार २०८१, बुधबार

म्यानपावर र ट्राभल एजेन्सीको नयाँ ठगी धन्दा, भिजिट भिसा


manpower

युएई, वैशाख २९ – नेपाल र युएईमा रहेका कतिपय म्यानपावर कम्पनी तथा ट्राभल एजेन्सीहरुले अहिले भिजिट भिसामा युएई ल्याउने काम गरिरहेका छन् । युएईको अजमान र सारजाहमा भवन नै भाडामा लिएर उनीहरुले व्यवसाय सञ्चालन गरिरहेका छन् ।

युएईको कानुन अनुसार व्यवसाय सञ्चालन गर्नु अवैधानिक मानिदैन् । तर समस्यामा परेका नेपालीले स्थानीय प्रशासनमा उजुरी दिन नसक्दा गैरकानूनी रुपमा काम गर्नेहरु कारवाहीमा परेका छैनन् । नेपाली दलालले युएईमा काम लगाइदिने ग्यारेण्टी लिएर भिजिट भिसामा युएई ल्याउने र यहाँ घरेलु कामदारका रुपमा सप्लाई गर्ने पनि पाइएको छ ।

भनियो दुवई, पुर्याइयो ओमान
डेढ महिना अघि झापाकी रमिला बराललाई आफ्नै नातेदारले एक जना दलाल मार्फत दुवईमा काम गर्न पठाएका थिए । तर रमिलालाई युएईको अजमानमा १५ दिन बन्दि बनाएर ओमान पुर्याइयो ।

उज्यालो अनलाइनसँग टेलिफोनमा कुरा गर्दै उहाँले आफूलाई घरेलु कामदारका रुपमा युएईबाट ओमन पुर्याइएको बताउनुभयो । दुवईमा बन्दि जस्तै गरी राखिएको, यहाँ रहेका आफन्तसँग समेत टेलिफोन सम्पर्कमा रहन नदिएको र लुकेर सम्पर्क गर्न खोज्दा पिटाइ खाएको उहाँको भनाइ छ ।

भिजिट भिसामा युएई आएका धेरै नेपाली काम नपाएपछि समस्यामा
भक्तपुरका विशाल थापाले उज्यालोको इमेलमा नेपालमा आफूलाई दलालले भिजिट भिसामा गएर काम पाइन्छ भनेर दुवई पुगेको कुरा लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यहाँ आएपछि मलाई थाहा भयो कि धेरै नेपालीको भिजिट भिसामा दुवई आएर बिजोक भएका रहेछन् ।’

विशाल थापा जस्ता पीडित कति छन् भन्ने संख्या यकिन नभएपनि विभिन्न निकायमा यसरी पीडित भएकाहरु उजुरी गर्न पुग्न थालेपछि पीडितको संख्या बढ्न थालेको अनुमान गरिएको छ । युएईले सजिलै पर्यटकीय भिसा दिने भएकाले धेरै नेपाली त्यस्तो भिसामा यहाँ आउने गरेका छन् ।

भिजिट भिसामा आएका नेपालीहरु समस्यामा परेर दूतावास आउने गरेको श्रम सहचारी हिरा कुमारी यादवले बताउनु भयो । काम गर्ने उद्देश्यले पर्यटकीय भिसामा युएई आएर खोजेजस्तो काम नपाएपछि मात्र ती नेपालीले समस्यामा परेको बताउने गरेका छन् ।

युएईले सजिलै आफ्नो देश घुम्नका लागि भिसा दिने र त्यहिँ सहजतालाई केहि म्यानपावर व्यवसायी र ट्राभल एजेन्सीहरुले कमाउ धन्दामा समेत प्रयोग गरिरहेका छन् ।

अन्य देशका नागरिकसँग मिलेर युएईमा बस्ने कतिपय नेपालीले नेपालीलाई भिजिट भिसामा ल्याउने र अलपत्र पार्ने गरेको पनि पाइएको छ । भिजिट भिसामा आएर कामको खोजी गर्दै नेपालीले युएईमा सञ्चालन गरेका कम्पनीमा समेत पुग्ने गरेको व्यवसायी रमेश श्रेष्ठले बताउनुभयो ।

भिजिट भिसामा आएर काम नपाएका धेरै नेपालीले आफूलाई काम लगाइदिन भनेर अनुरोध गर्ने गरेको उहाँले बताउनुभयो । ‘दक्ष भएर कामको खोजीका लागि आए ठिकै हो, तर दलाललाई तीन लाख रुपैयाँसम्म तिरेर भिजिट भिसामा आउने र भने जस्तो काम नपाए समस्यामा परिन्छ । यसबारेमा आफैं सचेत हुनुपर्यो ।’ उहाँले भन्नुभयो ।

फ्रि भिसा र टिकट कार्यान्वयनमा आएपछि म्यानपावर व्यवसायीले मोटो रकम असुलेर नेपाली युवालाई भिजिट भिसामा ल्याउने गरेका छन । म्यानपावर व्यवसायी मात्रै नभएर युएई र नेपालमा रहेका केहि ट्राभल एजेन्सीहरु समेत ठगीमा संलग्न रहेको पीडितहरुको भनाई छ ।

भिजिट भिसामा आएर काम गर्न चाहनेहरुको संख्या बढेसँगै समस्या पनि बढ्न थालेपछि नेपालका सम्बन्धित निकायमा पटक पटक पत्राचार गरिएको कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले बताउनुभयो । भिजिट भिसाका कारण समस्यामा पर्ने नेपालीका विषयमा युएईको सम्बन्धित निकायसँग छलफल गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !