१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा धर्ना, जुलुस र र्‍याली जस्ता गतिविधि नगर्न प्रशासनको चेतावनी


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।

आज मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै भूमिका र जिम्मेवारी रहने पनि काठमाडौं जिल्ला प्रशासनले सूचनामार्फत स्पष्ट पारेको हो ।

काठमाडौं प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, -यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधिहरु नगर्न-नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न काठमाडौं प्रशासनले आग्रह गरेको हो । पछिल्लो समय थपिएको निषेधाज्ञा भोलि साउन २० गते बुधबार सकिँदैछ ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना

काठमाडौंमा धर्ना, जुलुस र र्‍याली जस्ता गतिविधि नगर्न प्रशासनको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !