१३ बैशाख २०८१, बिहिबार

भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर


चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए ।

महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उहाँले भन्नुभयो, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।” महानगरको इजलासमा गत आवमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए ।

गत आवका लागि ४४ मुद्दामध्ये यस आवलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उहाँले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छाँै । जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उहाँको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !