१२ पुस २०८१, शुक्रबार

लामो दूरीका सार्वजनिक यातायात अझै १० दिन नखुल्ने संकेत


काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात अझै १० दिन नखुलाउने संकेत गरेको छ । कोभिड-१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक यातायातका साधन अझै १० दिन नचल्ने भएका हुन् ।

काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रजिअहरुको हिजो बसेको बैठकले आज साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुलाउन सक्ने आंकलन गरिएतापनि त्यो निर्णय हिजी गर्ने सकेन ।

हिजो बसेको प्रजिअहरुको बैठकले काठमाडौं आउने र जाने लामो दूरीका सार्वजनिक यातायातका साधनमा लगाएको रोक यथावत् राखेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले लामो दूरीका सवारी साधन खुला नगरिएको हो ।

यो अवधिमा अत्यावश्यक विशेष कामले सर्वाजनिक तथा निजी सवारी साधनलाई काठमाडौं उपत्यकामा आवतजावत गर्न भने दिइने छ । उपत्यकामा आजदेखि थपिएको निषेधाज्ञा सम्बन्धी आदेशमा पनि अत्यावश्यक कामका लागि भने आउन जान दिने उल्लेख गरिएको छ ।

यद्यपि लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताववारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकोले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको हो ।

काठमाडौं उपत्यकामा भने सार्वजनिक यातायातका साधन यथावत् सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको छ भने क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

काठमाडौं उपत्यकामा श्रावण १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !