२८ फागुन, काठमाण्डौ । मिडिया इन्टरनेशनलले ‘समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रम’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रमका अतिथि तथा कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सके आर्थिक विकासमा टेवा पुग्ने र जीवनस्तर उकास्न सकिने बताउनुभयो । कार्यक्रमका अर्का अतिथि एवं पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दलहरुले पनि अब आर्थिक मुद्धा उठाउन थालेकाले मुलुकमा आर्थिक समृद्धिको मुलुकमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो ।
त्यस्तै, अर्का अतिथि एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकका सबै क्षेत्रको ध्यान आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बाहरु सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त पहल हुनुपर्नेमा थापाले जोड गर्नुभयो ।
कार्यक्रमका अतिथि एवं उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी अतिथि रहनुभएका निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्तले बेरोजगारीका कारण मुलुकमा गरीबी बढेको उल्लेख गर्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले प्रविधि, शिक्षा र पुँजीको अभाव भएका व्यक्तिहरुलेसमेत जोस, जाँगर र आँट भए ठूलो पुँजीविना पनि उद्यमशीलता हासिल गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका महिलाहरुलाई सम्मान गर्नुका साथै लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका व्यक्तिहरुको सफलता र मिडिया इन्टरनेशनलको दुई वटा डकुमेन्ट्री पनि देखाइएको थियो ।