११ बैशाख २०८१, मंगलबार

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित


जीर्ण भवन

बझाङ । सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् ।

वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताए । उनले भने, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ ।

सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन । तीन-चार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।”

जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित अवस्थामा रहनु परेको उनको भनाइ छ । भवनको भित्ताबाट माटो र कुहिएको काठ खस्ने गरेको उनले बताए । बेलाबेला विषालु सर्पभित्रै आउने हुँदा राति निदाउन नसकिने प्रहरी जवान गोविन्दप्रसाद जोशीले थपे ।

उनी भन्छन्, “मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्य जस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।” भान्सामा पानी भरिभराउ हुँदा खाद्यान्न बिग्रने गरेको छ । भवनमा झ्याल नहुँदा जाडोमा चिसोले सताउँछ ।”

विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन, उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ । विमानस्थल, सिमखेत चेक पोष्ट, र पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन् ।

एकातर्फ विमानस्थलको डिउटी गर्नुपर्ने, अर्कातर्फ वडा नं ५, ६, ७, ८ र ९ को शान्ति सुरक्षा हेर्नुपर्ने हुँदा भ्याइ नभ्याइ हुन्छ । गाउँहरुमा कतै झैझगडा भएमा वा प्राकृतिक विपद् भएमा तुरुन्तै पुग्नु पर्ने बाध्यता रहेको छ ।

विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नु पर्ने बाध्यता रहेको छ । बर्खा याममा पानी परेको बेला ग्रामीण सडकमा गाडी नजाने र गाउँहरु छरिएकाले हिडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम भएको प्रनानि धामीले बताए ।

भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको उनको भनाइ छ । देवल विमानस्थल सुरक्षा समितिले जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको भएपनि अहिलेसम्म कुनै जानकारी नआएको जानकारी दिएको छ ।

जिल्लाभरिका लागि ३७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन् । अहिले ३४३ जना मात्र कार्यरत रहेकाले प्रहरी व्यवस्थापनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उहाँले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गर्न आवश्यक महशूस भएपनि बस्ने बासस्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको सङ्ख्या थप्न नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !