काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले बोलाएको ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी रहेको छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएका हुन् ।
बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएकी थिइन् ।
मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी थिइन् ।
विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिएकी थिइन् । यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उनले सुझाव दिएकी थिइन् ।
विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेपछि आलंकारिक राष्ट्रपति सक्रिय भएको भनेर सामाजिक संजालमा आलोचना पनि शुरु भएको छ ।