८ माघ २०८१, मंगलबार

अमेरिकी कम्पनीबाट ५० लाख डोज कोरोना खोप ल्याउने सरकारको तयारी


जोन्सन एन्ड जोन्सन कम्पनी कोरोना खोप

काठमाडौं । नेपाल सरकारले अमेरिकाबाट ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी गरेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले बताए ।

‘जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज ल्याउन विश्व बैंकलाई भनेका छौं । यो खरिदमा सरकार सहभागी हुँदैन’ मन्त्री महासेठले भने, ‘सरकारले विश्व बैंकलाई रिक्वेस्ट गरेको छ ।’

४५ दिनभित्र खोप दिन सरकारले भनेको तर जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको महासेठले बताए । प्रक्रिया शुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले चीनसँग खोप खरिदका लागि सहमति प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना रहेको जनाइएको छ । मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

यस्तै सरकारले चीनसँग ४० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।

यो पनि पढ्नुहोस्

नेपालले चिनियाँ कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !