१२ बैशाख २०८१, बुधबार

नेपालले चिनियाँ कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने


सिनोफार्म

काठमाडौं । नेपाल सरकारले चीनसँग ४० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए । उनले ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिए ।

अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको र आगामी साउनदेखि नागरिकहरुलाई लगाउन थालिने बताइएको छ । खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ ।

भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित तेस्रो मुलुकसँग खरिद प्रक्रिया अघि बढाएको हो । चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !