७ मंसिर २०८१, शुक्रबार

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान


बेनीमा कटान

म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।

“तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ”, उनले भने, “तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।” रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ ।

तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । तीसभन्दा बढी सरकारी कार्यालयका भवन छन् । गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मङ्गलाघाटमा रहेको वन डिभिजन, भू-संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका सातवटा भवनसँगै नर्सरीमा क्षति पुर्याएको थियो ।

जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीयवासी रुद्र सुवेदीले बताउनुभयो । माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो ।

पहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधबार साँझदेखि म्याग्दीमा विद्युत्समेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ ।

बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रविधि प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रविधि अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गरिँदै आएको थियो ।

परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावियन पर्खाल लगाउने कम्पोजिट वालको प्रविधि सफल भएको बताउनुभयो । “कम्पोजिट प्रविधिको पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पुर्याएको छैन”, उनले भने, “आगामी वर्षको योजनामा पनि कम्पोजिट पर्खाल बनाउने डिजाइनका लागि प्रस्ताव गरेका छौँ ।”

यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा १०० मिटरभन्दा बढी कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावियन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ । मङ्गलाघाटतर्फ आरसिसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावियन पर्खाल लगाइएको छ । कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पुर्याएको छैन । अस्थायी प्रकृतिको ग्यावियन र पक्की आरसिसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि विकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिइएको परियोजनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !