८ मंसिर २०८१, शनिबार

निषेधाज्ञा खुकुलो बनाउदै काठमाडौंमा फेरि एक साता थप गर्ने तयारी


काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ । निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज आइतबार दिउँसो ३ बजेदेखि जारी रहेको छ । छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी रहेका छन् ।

यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि सोमबार सकिँदै छ । उपत्यकाको निषेधाज्ञालाई केही खुकुलो बनाउने भन्नेबारे छलफल सुरु भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार केही पसलहरुलाई समय तोकेर खुलाउने भन्नेबारे छलफल भए पनि बैठकबाटै निर्णय लिइनेछ । प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक हप्ता थपिने तयारी गरिएको हो । तर निषेधाज्ञा केही खुकुलो पार्दे बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब २ घण्टा थपेर ११ बजेसम्म खुल्न दिइने छ । थपिन लागेको निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ ।

निषेधाज्ञा लम्ब्याउनुको प्रमुख कारण भिडभाड नै भएको बुझिएको छ । स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !