८ बैशाख २०८१, शनिबार

फेरि एक साता निषेधाज्ञा थप्ने तयारी : किराना तथा तरकारी पसल १० बजेसम्म खुल्न दिइने


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक हप्ता थपिने भएको छ । तर निषेधाज्ञा केही खुकुलो पार्दे बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब १ घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ । थपिन लागेको निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू यस विषयमा आपसी छलफलमा जुटेका छन् । जेठ ३१ गतेसम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारी साधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो ।

निषेधाज्ञा लम्ब्याउनुको प्रमुख कारण भिडभाड नै भएको पराजुलीले बताए । स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को ठहर छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार हालको परिस्थितिमा मध्यनजर गर्दा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको उनले बताए । अपेक्षा गरिएअनुसार कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले हालको परिस्थितिलाई ध्यानमा राखेर निषेधाज्ञालाई जारी राख्नुपर्ने राय-सुझाव आएको उनले बताए ।

उपत्यकामा जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञा तीन दिनपछि अन्त्य हुँदैछ । मृत्युदर घटे पनि कोरोना संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिने देखिन्छ । निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गर्दै त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने पराजुलीले बताए ।

लगभग डेढ महिना बितिसक्दा पनि कोरोना संक्रमण आशातित रुपमा घट्न सकेको छैन तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । मुलुकभर नै सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !