१३ बैशाख २०८१, बिहिबार

सगरमाथा चढ्न खोज्ने दृष्टिविहीन युवा जागिरबाट निकालिए


Mount Everest Nepala

सगरमाथा चढ्न खोज्दा एक दृष्टिविहीन व्यक बागलुङ कुवा गाविस–२ मादीका ३२ वर्षीय अमित केसीले भइरहेको जागिर नै गुमाउनुपरेको छ।

बागलुङको रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक थिए अमित। सगरमाथा चढ्ने योजना उनले विद्यालयमा सुनाए। उनले प्रस्ताव राखे, “तालिमहरु चल्दा मात्रै अरु शिक्षकको व्यवस्थापन गर्नुपर्ला, अरुबेला पढाउन आइहाल्छु।” अलि समयपछि विद्यालयबाट श्रीमतीलाई राख्छौँ, आउनुपर्दैन भन्ने खबर आएपछि उनी थप ढुक्क भए।
“एक्कासी पुरानो मिति बनाएर अवकाश दिएको पत्र आएपछि पो म झसङ्ग भएँ,” अमितले भने ‘अब मेरो सगरमाथा चढ्ने महाअभियानमा साथ दिने आमनेपाली मात्रै छन्।’ “सगरमाथा चढ्ने प्रस्ताव राखेपछि मलाई शिक्षकको जागिरबाट निकालियो,” कुराकानीमा अमितले भने – मैले जागिर त्यागेँ, सगरमाथा चढ्ने अभियान त्यागिनँ।”
सगरमाथा चढ्ने अभियान सुरु गरेपछि अस्थायी रुपमा केसी हाल चितवनको छिमेकी जिल्ला नवलपरासीको गैँडाकोट नगरपालिका–५ कालिका चोकमा मामाघरमा बस्दै आएका छन । अहिले आर्थिक जोहो गर्न उनी जिल्ला जिल्ला धाइरहेका छन्। “ज–जसले सहयोग गर्नुहुन्छ उहाँहरु मेरो अभियानका अभियन्ता बन्नुहुनेछ, हामी पनि केही गर्न सक्छौँ भन्ने देखाउँछु” – अमितले खुलाए।
जन्मैदेखिका दृष्टिविहीन अमित परिवारका माइलो छोरा हुन्। स्नातकोत्तर गर्दैगर्दा अभियानकै क्रममा पढाइ पनि रोकिएको छ। श्रीमती विद्या केसीसँगै पाँच वर्षका छोरा अभिजित र आठ वर्षकी छोरी अजनवी छिन्। श्रीमतीले कस्मेटिक पसल चलाएर छोराछोरी पढाउँछिन्।
उनी भने सगरमाथा चढेर नेपाली झन्डा फर्फराउँदै नेपालकै पहिलो दृष्टिविहीन आरोहीको नाम लेखाउन चाहन्छन्। सन् २०१७ अर्थात् आगामी वर्ष उनी सगरमाथा जाने योजनामा अहिले तालिम लिइरहेका छन्।
अहिले उनी लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाको सदस्य भएका छन्। मौलाकालिकाले सहयोग जुटाउन उनलाई विभिन्न क्षेत्रमा भेटघाट गराइदिने काम गरिरहेको अध्यक्ष सिआर कँडेलले बताए।
अमितले २०१५ मा छ हजार १८६ मिटर अग्लो सोलुको आइल्यान्ड पिक र यो साल छ हजार ६५४ मिटर अग्लो सोलुकै मेरा पिकको सफल आरोहण गरिसकेका छन्। यी दुई वटा हिमाल चढेपछि सगरमाथा चढ्न सक्ने पूर्ण हिम्मत पलाएको केसी बताउँछन्। रक क्लाइम्बिङ, मोटिभेसन कक्षा, डोरी चढ्ने कला उनले सिकिसकेका छन्।

“अहिले म नितान्त आर्थिक सङ्कलनकै अभियानमा छु,” केसीले भने – यो चारवर्षे अभियानभर करिब एक लाख डरल (करिब नेपाली एक करोड रुपैयाँ) लाग्ने रहेछ। खर्च जुटाउने प्रयासमा छु।” सामान्य मान्छेभन्दा अन्तर्राष्ट्रियस्तरको पथप्रदर्शक लानुपर्ने, सहयोगी हुनुपर्ने जस्ता कारणले उनको आरोहण यात्रा खर्चिलो बन्न पुगेको हो। तीन वर्षदेखि सुरु भएको उनको अभियानमा अहिलेसम्म करिब ११ लाख रुपैयाँ खर्च भइसकेको छ।

विश्वकै पहिलो सगरमाथा आरोहण गर्ने दृष्टिविहीन व्यक्ति अमेरिकाको सामान्य परिवारमा जन्मेका एरिक हुन् अमेरिकाकै एकजना क्लेफ भन्ने मान्छेले नेपाल आएर म सगरमाथा चढ्ने दृष्टिविहीन युवकको देशको मान्छे हुँ भनेर उनका साथी खेमराज शर्मालाई भनेछन्। कुराकानीमा दृष्टिविहीनले पनि गर्न सक्ने कुरा भएपछि खेमराजले अमितलाई यो कुरा सुनाए। त्यसपछि अमितलाई सगरमाथा चढेर पहिलो नेपालीको पहिचान दिने धोको पलायो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !