२ जेष्ठ २०८१, बुधबार

रहेनन् वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धर

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन


विष्णुबहादुर मानन्धर

काठमाडाैं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । विगत १ महिनादेखि पाटन अस्पतालमा फाेक्साेकाे उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज सोमबार साँझ ८ः२० मा निधन भएकाे हो ।

२००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति शुरु गरेका मानन्धर त्यसको २ वर्षपछि २००९ सालमा रौतहटको किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिको शुरुवात गरेका थिए ।

उनी राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका थिए । मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा चिनिन्थे । उनले २६ वर्ष नेकपा (संयुक्त) को महासचिव भएर पार्टीको नेतृत्व समेत गरेका थिए ।

नेकपा संयुक्त स्थापनामा उनको ठूलो योगदान रहेको छ । २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएपछि गणेश शाहले नेकपा (संयुक्त) को नेतृत्व गर्दै आएका थिए । २०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादीबीच एकता भएको थियो ।

जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहने मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए ।

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा संयुक्त सम्मको स्थापनामा महत्वपूर्ण योगदान गरेका मानन्धरले आफूलाई सर्वहारा नेताको रुपमा स्थापित गरेका थिए ।

उनको छोरा सुनिल मानन्धर माओवादी केन्द्रका नेता छन् भने उनको ३ जना छोरीहरु छन् । दिवङ्गत मानन्धरको भोलि मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !