२६ बैशाख २०८१, बुधबार

असारभित्रै भूकम्पपीडितलाई छानामुनि ल्याउँछु : प्रधानमन्त्री ओली


Pm-kp-oli-mic-speaking

वैशाख १४, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने बताएका छन् ।

नेपाली कांग्रेसका सांसदको प्रतिनिधिमण्डलले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको बताए ।

अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले भने, ‘पुनःनिर्माणका सम्बन्धमा यथार्थपरक दृष्टिकोण र पारस्परिक सहयोगको आवश्यकता हुनुपर्छ ।’

दोस्रो संविधानसभाको निर्वाचनपछि कुनै दलको बहुमत नआएपछि आफूलाई पनि प्रधानमन्त्री बन्न अफर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले कांग्रेसको सहयोग, सल्लाह र समर्थनमा मात्र सरकार बनाउनुपर्छ भनेको थिएँ ।’ आफ्नो सक्रियतामा कांग्रेसको नेतृत्वमा सरकार बनेको बताउँदै उनले कांग्रेस र नेकपा (एमाले) बीच भएको भद्र सहमतिपछि सरकार बनेको र आफूले कहिल्यै सार्वजनिक रुपमा सरकारको आलोचना नगरेको अवगत गराए ।

सरकारको नेतृत्वमा जो रहे पनि सहमति र सहकार्यका साथ अघि बढनु जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले संविधान लोकतान्त्रिक भएको र आवश्यकतानुसार संशोधन गर्न सकिने धारणा राखेका थिए । उनले मुलुकमा देखिएको कृत्रिम अभावको गुनासोप्रति आफू गम्भीर रहेको र कडा रुपमा प्रस्तुत भएर नियन्त्रण गर्न लाग्ने बताए ।

कांग्रेसका तर्फबाट सांसद धनराज गुरुङले ज्ञापनपत्र बुझाउँदै भूकम्पपीडितलाई दिइने राहत र पुनःनिर्माणमा सरकार उदासीन देखिएको आरोप लगाएका थिए । ‘जटिल परिस्थितिमा सरकारले काम गरेर देखाउन सक्नुपर्थ्यो तर कामभन्दा बोलीमा सरकार रमाइरह्यो । कहिले पुनःनिर्माणको महाअभियानको थालनी त कहिले मेरो धरहरा म आफैँ बनाउँछु भन्ने नारामै सरकार रमाइरहेको देख्दा यो सरकार सस्तो लोकप्रियताको कुरा मात्रै गरिरहेको पुस्ट्याइँ हुन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

कांग्रेसले भूकम्पपीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभई एक मुष्ट रुपमा आजको मितिले एक महिनाभित्र वितरण गरियोस् भन्ने माग गरेको छ । साथै राहत वितरणलाई सरल र सहज बनाउनका लागि इ–बैंकिङ प्रणाली अपनाउनाका साथै भूकम्पपीडितलाई घर बनाउने क्रममा निःशुल्क नक्सा पासको व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ ।

प्रतिनिधिमण्डलमा सांसद तारामान गुरुङ, दीपक गिरी, मोहनप्रसाद बराल, भरतबहादुर खड्का, पार्वता डिसी चौधरी, रामेश्वरप्रसाद ढुङ्गेल, चन्द्र महर्जन, राजेन्द्रकुमार केसी, रामहरि खतिवडा, दीपकप्रसाद कुइँकेल, बहादुरसिंह लामा, दीपक खड्का, शङ्कर भण्डारी, उदयशम्शेर राणा, भीमसेनदास प्रधान, मदनबहादुर आमात्य, कमला पन्त, इन्द्रबहादुर बानियाँ, दिलमान पाख्रिन र मोहनबहादुर बस्नेत सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !