१२ बैशाख २०८१, बुधबार

फार्कका सदस्यमाथि युद्ध अपराधका घटनामा दोषी ठहर


कोलम्बिया

बोगोटा । कोलम्बियाको एक उच्च अदालतले फार्क विद्रोही आन्दोलनको नेतृत्व गरिरहेका आठ जना वरिष्ट सदस्यमाथि युद्ध अपराधको घटनामा दोषी ठहर गरेको छ । कोलम्बियामा दशकौं लामो चलेको सशस्त्र गृहयुद्धका क्रममा २१ हजारभन्दा बढी व्यक्तिको अपहरणमा उनीहरुको संलग्नता रहेको अदालतको भनाई छ ।

दोषी ठहर गरिएका आठ जना फार्कको सचिवालयका सदस्य छन् र यो फार्कको सबैभन्दा माथिल्लो निर्णायक निकाय हो । झण्डै ५० वर्षदेखि जारी रक्तपातपूर्ण फार्क आन्दोलन सन् २०१६ मा शान्ति सम्झौता भए पश्चात् फार्क नै विघटन भएको थियो । फार्कको राजनीतिक दल कमन पिपुल्स पार्टीका हाल प्रमुख रहनु भएका रोड्रिगो लोन्डोनोको नाम समेत युद्ध अपराधमा समावेश छ ।

साथै यस सूचीमा शान्ति सम्झौता बमोजिम फार्कका नेताहरुलाई संसदका लागि छुट्याइएका १० स्थानमध्ये दुई स्थानमा रहेका पाब्लो काटाटुम्बो र जुलियान गाल्लो पनि समावेश हुनुहुन्छ । फार्कका अर्का उच्च नेता अर्मिलो काब्रेरामाथि पनि युद्ध अपराधीको सूचीमा नाम थियो, तर उहाँको गत बुधबार निधन भएको छ ।

शान्ति सम्बन्धी विषय हेर्नेगरी गठित विशेष अदालतका न्यायाधीश जुलिएटा लेमाइटरले कुनै व्यक्तिको स्वतन्त्रता हनन् गर्नु र कसैलाई मुक्त गर्नुअघि विभिन्न शर्त राख्नु युद्ध अपराध हो भन्नु भएको छ । यो अदालतले खासगरी फार्कका सदस्यको मुद्दा सुनुवाई गर्न र द्वन्द्वकालीन स्थितिमा भएका अपराधको अनुसन्धान गर्न गठन भएको हो ।

साथै अदालतले मानवता विरुद्धको अपराधका बारेमा पनि सुनुवाई गरेको छ भने हत्या, यातना, अमानवीय व्यवहार, व्यक्तिगत प्रतिष्ठामा आक्रमण, यौन हिंसा र जबर्जस्ती बिस्थापन जस्ता व्यवहारका बारेमा पनि अदालतले सुनुवाई गरेको थियो ।

यो अदालत सन् २०१७ मा गठन भएको थियो ।

कमन पिपुल्स पार्टीले भने विगतमा भएका घटनाप्रति क्षमायाचना गरिसकेको छ ।

कोलम्बियाका राष्ट्रपति इभान डुकुले देशभित्र कुनै पनि व्यक्ति समान रहेका र कसैलाई पीडा हुने तथा कोही पीडक स्वतन्त्र एवं खुलेआम घुम्ने परिस्थिति स्वीकार्य नहुने प्रतिक्रिया दिनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !