वैशाख ७ – भूमध्य सागरमा आप्रवासी चढेको डुंगा पल्टिँदा पाँच सय जनाको ज्यान गएको बाच्न सफल आप्रवासीले बताएका छन् । लिबियाको तटिय शहर टोब्रुकबाट इटाली पुग्नका लागि चढेको डुंगा भूमध्यसागरमा डुबलेको उनीहरुले बताएका छन् । रातिको समयमा एक डुंगाबाट अर्को डुंगामा सर्ने क्रममा यो दुर्घटना भएको र पाँच सय भन्दा धेरैको ज्यान गएको बाँच्न सफल भएका ४१ जना आप्रवासीले बताएका छन् । यो दुर्घटनामा बाँच्न सफल हुनेमा इथियोपिया, सोमालिया, सुडान र इजिप्टाका नागरिक छन् । ज्यान जानेमा पनि यही देशका धेरै रहेको जनाइएको छ । बाँच्न सफल भएका आप्रवासीलाई अहिले ग्रिसको दक्षिणी शहर कालामाटामा राखिएको छ ।
डुंगा दुर्घटनामा परेर बाँचेकाले पाँच सय भन्दा धेरैको ज्यान गएको बताएपनि त्यसको आधिकारिक पुष्टी भने हुन बाँकी छ । धेरै आप्रवासीले लिबियाबाट इटाली पुग्न भूमध्ये सागरको जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने गरेका छन् । मानअधिकारकर्मीले भने लिबियाको तटिय शहर टोब्रुकबाट झण्डै दुई सय ४० आप्रवासी इटलिका लागि गएको बताएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले पाँच सय जना आप्रवासीको ज्यान गएको भन्ने सही हो भन्नेमा आशंका रहेको बताएको छ ।
तर इजिप्टको कायरोमा रहेको सोमालियाको दूतावासले ज्यान जानेको संख्या चार सय भन्दा धेरै हुन सक्ने जनाएको छ । यो वर्ष अहिलेसम्म एक लाख ८० हजार भन्दा धेरैले समुद्री मार्ग भएर युरोप जान खोजेको र त्यसक्रममा ८ सय जनाको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।
– एजेन्सीको सहयोगमा