४ आश्विन २०८१, शुक्रबार

बिजुलीमा भारतसितको परनिर्भरता बढ्दै


electricity बिजुलीमा परनिर्भरता

१७ पुस, काठमाण्डौ। बर्षेनी भारतसितको बिजुलीमा परनिर्भरता बढ्दै गएको छ। यस वर्षको हिउँदमा विधुत प्राधिकरणले लोडसेडिङ हुन नदिन ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ।

यो भन्दा अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो। करिब ३०० मेगावाट २०७२ मा आयात भएको थियो। सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न मागअनुसार नसकेकाले बर्सेनि परनिर्भता बढेको हो।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने,‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट बिजुली आयात हुनेछ।’ विद्युत्को बढी माग हुने साँझको समयमा मात्र ४७० मेगावाट बिजुली आयात गरिने अधिकारीले बताए।

मुलुकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ४२० र निजी क्षेत्रका प्रवद्र्धित आयोजनाबाट १६० मेगावाट गरी ५ सय ८० मेगावाट छ। अधिकारीका अनुसार हाल साँझमा विद्युत्को कुल माग १३८० मेगावाट छ। हाल मुलुकमा विद्युत् आयोजनाको जडित क्षमता ९५० मेगावाट हाराहारीमा छ।

कुल १५० मेगावाट बिजुली थपिने आर्थिक वर्षमा प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ। निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !