उर्लाबारी (मोरङ), ७ वैशाख । पेट्रोलियम पदार्थमा गर्ने गरिएको तापक्रम परीक्षणको विषयलाई लिएर विराटनगरका टयाङ्कर मजदुरले गरिरहेको आन्दोलन फिर्ता भएको छ ।
मजदुरले आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ । मजदुरले टयाङ्करको तल्लो भागबाट तापक्रम जाँच गर्नुपर्ने माग गर्दै गत आइतबारबाट आन्दोलन सुरु गरेका थिए ।
निगमका ५६० मजदुरले काम ठप्प पार्दा पूर्वाञ्चलमा इन्धनको ढुवानी बन्द भएको थियो ।
टयाङ्कर यातायात मजदुर सङ्घका अध्यक्ष केशव आचार्यका अनुसार माग पूरा गर्नका लागि निगमलाई एक साताको अल्टिमेट दिइएको छ । आगामी आइतबारसम्ममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गगर्ने आचार्यले बताए ।
निगमले भारतको बरौनीबाट ल्याउने पेट्रोलियम पदार्थको तापक्रम परीक्षण टयाङ्करको माथिल्लो भागबाट गर्ने गरेका कारण मजदुरलाई नोक्सान प’ग्ने उनको भनाइ छ । दुई दिन मजदुरले ढुवानी र भण्डारणको काम ठप्प बनाउँदा पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव देखापर्न थालेको थियो ।