७ जेष्ठ २०८१, सोमबार

१९ औ सार्क सम्मेलन पाकिस्तानमा हुने तयारी


१९ औ सार्क सम्मेलन

मंसिर २५, २०७४-पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन गर्न आफू तयार रहेको जनाएको छ । ‘सार्क चार्टर डे’ को अवसर पारेर पाकिस्तानले सम्मेलन गराउन तयार रहेको जनाएको हो । पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले सार्कमार्फत यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउदै भने, ‘पाकिस्तान शिखर सम्मेलन गर्न तयार छ । यसमा सदस्य मुलुक सहभागी हुने आशा गरेको छु ।’

सार्कका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सार्क चार्टर डेका अवसरमा यस क्षेत्रका नागरिकलाई शुभकामना दिएका छन् । ‘आठ मुलुकको सहकार्यका लागि साझा इच्छा र संकल्पको अभिव्यक्ति नै सार्क हो,’ देउवाले भने, ‘दक्षिण एसियाको शान्ति, स्थायित्व, आर्थिक विकास र सामाजिक–सांस्कृतिक विकासका लागि सार्क अपरिहार्य छ ।’ सार्कको उद्देश्य हासिल गर्न लामो समय र ठूलो धनराशी लगानी भइसकेको जनाउँदै देउवाले सार्कलाई गतिशील संगठन बनाउन सबै सदस्य मुलुकबाट अझ बढी सहकार्य र प्रयास आवश्यक भएको र नेपाल यसमा प्रतिबद्ध रहेको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय सहयोग र विकासको पहिलो सर्त शान्तिसुरक्षा भएकाले यसमा सहकार्य अपरिहार्य रहेको बताएका छन् । सार्क सचिवालयको वेबसाइटमा राखिएको मोदीको सन्देशमा भनिएको छ, ‘आतंकको अभिशाप सार्क मुलुकको विकासको बाधक हो । आतंकवादलाई सघाउने प्रणाली नै पूर्ण नष्ट गर्नुपर्नेमा सदस्य मुलुकलाई आग्रह छ ।’ काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनका बेला सार्कका निम्ति आफूले कोरेका खाका कार्यान्वयन भइरहेको पनि उनले बताए । मोदीले सन्देशमा भनेका छन्, ‘सार्कमा अझै धेरै गर्न बाँकी छ ।’

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको सन्देशमा यस क्षेत्रको शान्ति, स्थायित्व र विकासका लागि सबै सदस्य मुलुक मिलेर काम गर्नुपर्ने उल्लेख छ । यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीफाला सिरसेनाले पनि यस क्षेत्रको विकासका लागि सहकार्यको उपयुक्त माध्यम सार्क भएको उल्लेख गर्दै यो क्षेत्रमा पूर्ण शान्ति बनाएर विकासको पथमा सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला एमन अब्दुल गयुमले आफ्नो सन्देशमा सार्कको विकास र जनस्तरको सहकार्यका लागि आतंकवाद नै बढी बाधक बनेको उल्लेख गरेका छन् । बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद र अफगान उपविदेशमन्त्री अडेला राजले पनि शुभकामना सन्देश दिँदै शान्त र उन्नत सार्कको आवश्यकता औंल्याएका छन् ।

सार्कका महासचिव अमजद हुसैन बी सियालले दक्षिण एसियामा सार्कको विकल्प नभएको बताएका छन् । ‘शान्ति, स्थायित्व र मित्रता प्रवद्र्धनमा सार्क नै महत्त्वपूर्ण माध्यम बनेको छ,’ उनले सन्देशमा भनेका छन्, ‘आतंकवादविरुद्धको लडाइँ, आर्थिक तथा व्यापार विस्तार, शिक्षा, गरिबी निवारण, कृषि, ऊर्जा, संस्कृति, सम्पर्क विस्तार, जलवायु परिवर्तनलगायतमा सार्कले जनतालाई जोडेको छ ।
स्रोत :- कान्तिपुर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !