४ बैशाख २०८१, मंगलबार

स्थानीय पालिकाको संघसंस्थासँगको सहकार्यबारे छलफल


लम्की, १८ असार । कैलालीको टीकापुर नगरपालिकामा कार्यरत गैरसरकारी संस्थाहरुले यहाँ काम गर्न सहज भएको बताएपनि नगरपालिकासँगको साझेदारीमा नगरकै संयन्त्रबाट काम गराउनुपर्ने संस्थाले भने ढिलाइ भएको गुनासो गरेका छन् । टीकापुर नगरपालिकाको गैरसरकारी क्षेत्रसँगको समन्वय र साझेदारीका विषयमा बिहीबार भएको जनतासँग मेयरउपमेयर कार्यक्रममा दातृ तथा गैरसरकारी संस्थाका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् ।

शिक्षा विकास समन्वय एकाइ कैलालीका शाखा अधिकृत प्रतापसिंह धाँमीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गर्दा टीकापुर नगरपालिकाबाट राम्रो सहयोग पाएको बताउनुभयो । ‘‘विगत तीन वर्षदेखि टीकापुरमा काम गरिरहेका छौँ’’, धामीले भन्नुभयो, ‘‘सबैले सकारात्मक सहयोग गरेको पायौँ, समयमै रिर्पोटिङ गर्ने, कामलाई समयमै सम्पन्न गर्ने भएकाले नगरपालिकासँगको सहकार्य राम्रो छ ।’’

द एशिया फाउण्डेशनका सुदूरपश्चिम फिल्ड कोर्डिनेटर यज्ञमान सेठ्ठीले टीकापुर नगरपालिकाको नगर प्रोफइल निर्माण र मेलमिलापसँग सम्बन्धित काममा सहकार्य भइरहेको बताउनुभयो । दिगो विकास समाज भजनीका परियोजना संयोजक करन बानियाँले नगरपालिकासँग सोचे जति सहकार्य हुन नसकेको बताउनुभयो । ‘‘सरकारी र गैरसरकारी संस्थाले विकासमा साझेदारी गरेपछि छिटो, छरितो विकास हुन्छ’’, बानियाँले भन्नुभयो, ‘‘आगामी दिनमा त्यो विषयमा नगरपालिकाले ध्यान दिनुपर्छ ।’’

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण नेपालका बन्धुविवस चौधरीले नगरपालिकासँग राम्रो सहकार्य भइरहेको तर काममा ढिलासुस्ती भइरहेको गुनासो गर्नुभयो । स्थानीय गैरसरकारी संस्थाले भने टीकापुर नगरपालिकाले आफूलाई समेट्न नसकेको गुनासो गरेका छन् । मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र हुराड्सका अध्यक्ष पर्शुराम महतोले स्थानीयस्तरमा रहेर काम गरिरहेको संस्था भएपनि टीकापुर नगरपालिकासँग सहकार्य हुन नसकेको गुनासो गर्नुभएको छ । ‘‘हामीसँग सहकार्य गरेको देखिदैन’’, महतोले भन्नुभयो, ‘‘हामीलाई साथमा लिएर अघि बढ्न आवश्यक छ ।’’

भानु सामुदायिक पुस्तकालय सत्तिका अध्यक्ष देवेन्द्र ढुंगानाले टीकापरमा २ पुस्तकालय हुनु गौरवको विषय भएको बताउँदै प्रत्यक्ष रुपमा पुस्तकालयमार्फत सञ्चालन हुने योजनाका लागि सहयोग नपाएको गुनासो गर्नुभयो । टीकापुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक केदार भट्टराईले टीकापुर नगरपालिकाका दातृ निकायसँगको सहकार्य बलियो देखिए पनि स्थानीयस्तरमा रहेर काम गरिरहेका संस्थाहरुसँग सहकार्य कमजोर भएको र त्यसलाई बलियो बनाउन सुझाव दिनुभयो ।

नागरिक समाज टीकापुरका सहसंयोजक भीमराम चपाइले नगरको विकासका लागि गैरसरकारी क्षेत्रसँगको सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो । ‘‘कतिपय गैरसरकारी संस्थामा विशेषज्ञ पनि रहेकाले नगरपालिकाले त्यसको फाइदा उठाउन सक्नुपर्छ’’, चपाई भन्नुहुन्छ, ‘‘गैरसरकारी संस्थाले पनि नगरपालिकाको नीतिमा बाधिएर काम गर्न जरुरी छ ।’’

नगर उपप्रमुख केशरी रावल विष्टले सबै संघसंस्थालाई नियमन गर्ने कार्यविधि बनाउने विषयमा टीकापुर नगरपालिकाले छलफल गरिरहेको बताउनुभयो । नगरप्रमुख तपेन्द्रबहादुर रावलले केही गैरसरकारी संस्थाहरु झोलामा चलिरहेकाले नगरपालिकाले त्यस विषयमा कडाइ गरेको बताउनुभयो । ‘‘नगरपालिकासँग सहकार्य गर्नको लागि आफ्नो स्पष्ट कार्यक्रम सहित आउनुप¥यो’’, नगरप्रमुख रावलले भन्नुभयो, ‘‘स्पष्ट कार्यक्रम र बजेट भएका संस्थासँग सहकार्य गर्न सकिन्छ ।’’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !