१२ पुस २०८१, शुक्रबार

नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास


रामसहाय प्रसाद यादव फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वद्र्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताए ।

नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रुपमा रहेको नेपाल संवत्को स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धुमधामका साथ मनाउनुपर्ने बताए।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौं उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !