९ मंसिर २०८१, आइतबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुन्छ : मुख्यमन्त्री पाण्डे


सुरेन्द्रराज पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् ।

विश्व प्रेस स्तन्त्रताका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

सरकारका तर्फबाट निर्माण गर्नुपर्ने सञ्चारसम्बन्धी ऐन नियम बनाउन प्राथमिकताका साथ लाग्ने भन्दै सन्देशमा पत्रकारिता क्षेत्रमा समस्या देखापरे पनि सबै खाले समस्यालाई सामुहिक समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

“प्रविधिको प्रयोगले परम्परागत सञ्चार माध्यम क्रमशः सङ्कटमा पर्दै गएका छन् । प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताले खोजमूलक र अनुसन्धानमूलक विषयमा ध्यान केन्द्रित गर्न सकोस्, आफैलाई परिष्कृत गर्न सकोस्”, सन्देशमा उल्लेख छ ।

लोकतन्त्रको पहरेदार राज्यको चौथो अङ्गमाथि जुनसुकै ढङ्गले हुनसक्ने नियन्त्रणलाई अस्वीकार गर्दै प्रेस जगतलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन खेल्नुपर्ने सबै खाले भूमिकाका लागि सरकार तयार रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !