२ कार्तिक २०८१, शुक्रबार

खबरदारी तथा पहरेदारीको काम राससले अझ शसक्त ढङ्गले गर्ने छ : राष्ट्रियसभामा अध्यक्ष


गणेश प्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आम नागरिकलाई सुसूचित गराउँदै आएको राष्ट्रिय समाचार समिति (रासस) लाई ६२औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको सन्देशमा प्रजातन्त्र दिवसकै दिन रहेको रासस दिवस २०७९ ले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा सत्य, तथ्य र निष्पक्ष समाचार तथा सूचना सम्प्रेषण गरी जनतालाई सुसूचित गराउन अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

उनको सन्देशमा भनिएको छ, “संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालनको अवस्था, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै सुशासन र समृद्धिमार्फत लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गराउने क्रममा खबरदारी तथा पहरेदारीको काम राससले अझ शसक्त ढङ्गले गर्ने मैले विश्वास लिएको छु ।”

सरकारी स्वामित्वको समाचार समिति सत्य, तथ्य, आधिकारिक र विश्वसनीय समाचार माध्यमका रूपमा स्थापित गराउन अहोरात्र खट्नुहुने रासस परिवारमा बधाई तथा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष तिमिल्सिनाको सन्देशमा भनिएको छ, “देशभित्रका र विदेशका समेत निष्पक्ष तथा आधिकारिक समाचार उत्पादन गरी विभिन्न सञ्चारमाध्यममार्फत जनतासमक्ष जानकारी गराउने उद्देश्य लिएको राससले समय अनुकूल परिमार्जित हुँदै आएको छ ।” अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अवलम्बन गरेको अवस्थामा संविधानका आधारभूत विशेषतामा नै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिएको उहाँको सन्देशमा उल्लेख छ ।

वर्तमान संविधानमा उल्लेखित मूल विशेषता समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले खेल्ने भूमिका पनि महत्वपूर्ण भएको अध्यक्षको सन्देशमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !