१३ बैशाख २०८१, बिहिबार

निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ


पृथ्वीमान गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुुपर्ने दायित्व रहेको र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन नेपालको सङ्घीय संरचनालाई स्थापित गराउन महत्वपूर्ण सावित हुने उल्लेख गरेका छन् ।

सबै निर्वाचनमा उत्साह, उमङ्ग तथा उल्लासमयरूपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुुदृढ बनाउन प्रदेश प्रमुख गुरुङले अनुरोध गरेका छन् ।

विसं २०७८ राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको स्मरण गर्दै उनले कोभिड-१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनुजस्ता कुरा सकारात्मक उपलब्धिका रूपमा रहेको बताए ।

देश संविधान कार्यान्वयनकै चरणमा रहेको र यसको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम भए पनि अझै यसले पूूर्णता नपाएका कारण जनअपेक्षाअनुसार जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए । देशका प्राकृतिक सम्पदा एवं मेहनती मानवीय संशाधनको समुचित र दीगो प्रयोग गर्दै मुलुकलाई समृद्ध एवं समुुन्नत बनाउने दायित्व रहेको उनको भनाइ छ ।

विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने उल्लेख गर्दै सन्देशमा नयाँ वर्षले सबैमा नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्ने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !