८ मंसिर २०८१, शनिबार

गौरा पर्वका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वका अवसरमा पनि शुभकामना सन्देश दिएकी छन् ।

सो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।

यस प्रकारका लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपतिले यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

उनले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन समेत सबैलाई आग्रह गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !