६ मंसिर २०८१, बिहीबार

७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने – रक्षामन्त्री प्रधान


७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने - रक्षामन्त्री प्रधान भीमसेनदास प्रधान

असोज २५, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । प्रधान नेपाली काँग्रेसमा बौद्धिक र भद्र नेताको रूपमा चिनिनुहुन्छ । काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ । प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आउनु भएका प्रधान नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति हुनुहुन्छ । ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने धारणा राखेर जनताको मन जित्ने काम गर्नु भएको छ । रक्षामन्त्री भई सकेपछि भावी योजनाहरु, देशको सार्वभौमसत्ता, स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा गर्न नेपाली सेनाको भूमिका र योगदान, देशको राष्ट्रिय सुरक्षा नीति बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. तपाईलाई नेपाली काँग्रेसमा बौद्धिक र भद्र नेताको रूपमा मानिन्छ । रक्षामन्त्रीको रुपमा नेपालको राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यन्वयन कसरी भई रहेको छ त ?

यो रक्षा मन्त्रालय म आफैले रोजेको मन्त्रालय हो । नेपालको राष्ट्रिय सुरक्षा नीति, २०७३ नेपालको संविधानपछिको दोस्रो महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हो । राष्ट्रिय हितसँग जोडिएका राष्ट्रिय शक्तिका संयन्त्रहरू–राजनीतिक, आर्थिक, कूटनीतिक, सुरक्षा, सूचना साधन लगायत प्राकृतिक स्रोतसाधन, सामाजिक संस्कृति र समग्र मानव सुरक्षाजस्ता विषयहरुको सुरक्षा गर्न बनेको मूलनीति नै राष्ट्रिय सुरक्षा नीति हो । राष्ट्रिय सुरक्षा नीति, २०७३ ले बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमाना, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेल, इन्धन र ऊर्जा संकटलाई प्रमुख सुरक्षा चुनौती र खतराका रूपमा औंल्याएको छ । त्यसैले गर्दा नेपालको राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यन्वयन गर्न मन्त्रालय, नेपाली सेना र यस अन्तर्गतका सम्पूर्ण निकायहरु अघि बढी रहेका छन् ।

२. रक्षामन्त्री भई सकेपछि पहिलो उपलव्धिमुलक काम के गर्नु भयो ?

यो मन्त्रालय म आईसकेपछी पहिलो काम नेपाल सरकारले फास्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दियो । अहिले भारतबाट काठमाडौँमा आउने सामानहरु लामो दुरी भएकोले जनताहरुले धेरै मूल्य तिर्नु परिरहेको छ । ७६.२ किमि लामो फास्ट ट्रयाक ४ बर्षभित्र बनाउने भनेर नेपाली सेनालाई जिम्मा दिएको छ । यो काम हामीले सम्पन्न गर्न सकियो भने काठमाडौँमा आउने सबै समानको मूल्य घट्छ । काठमाडौँ नेपालको राजधानी भएकोले यहाँ जनघनत्व धेरै छ । नेपाली जनतालाई धेरै नै आर्थिक राहत मिल्नेछ ।

३. सांसद र मन्त्री हुँदा के कस्ता अवसरहरु र चुनौतीहरुमा फरक हुँदा रहेछन त ?

सांसद चाहिँ कुनै पार्टी बिशेषको प्रतिनिधित्व गरेर आएको जनप्रतिनिधि हो भने जसले जनताको विकास निर्माणका योजनाहरु माग गर्छ भने मन्त्री चाहिँ कुनै पार्टी बिशेष नभएर सम्पूर्ण नेपाली जनताको नेपाल सरकारको आधिकारिक निकाय भएकोले समग्र राष्ट्रको बिकासमा मन्त्रीले सरकारको नीति तथा योजनालाई कार्यन्वयन गर्ने काम गर्छ । सांसद भईसकेपछि आफ्नो सोच र कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री हुनु अति आवश्यक छ । संसदमा सोच होला तर कार्यन्वयन गर्ने क्षेत्रमा चाहिँ सम्बन्धित मन्त्रालयमा धाउनुपर्ने स्थिति छ । सिंचाईको कुरा गर्न सिंचाई मन्त्रालय जानुपर्यो । बिकासको कुरा हुन्छ भने भौतिक मन्त्रालयमा पुग्नुपर्यो । त्यहाँ एउटा कठिनाई छ, एउटा सांसद हैन कि सबै सांसदहरुलाई त्यहि नै पुग्नुपर्यो । यहिँ कठिनाई भयो भनेर नै हामी केहि सांसदहरु मिलेर मन्त्रीकोमा योजनाहरु माग्न नजाने, मन्त्रीकोमा आफ्नै कार्यकर्ताहरुको भिडभाड हुन्छ । हामी सबैले मिलेर सरकारसँग बजेट मागौ अनि सरकारले दिन्छ । अनि त्यो योजना हामी सबै मिलेर आफ्नो क्षेत्रका सांसदहरुसँग जनताहरुसँग छलफल गरेर ५ करोड मागेको हो हामीले पहिलो पटक हो । तर त्यो बेला अर्थमन्त्री रामशरण महतले १ करोड दिनुभयो । अर्को ५० लाख चाहिँ छुट्टै दिनुभयो । पछि फेरी अर्को सरकार आईसकेपछी हामीले ३ करोड पाउने ब्यबस्था भयो । अहिले ३ करोड ५० लाख चाहिँ यथावत छ । हामीले असोज ३० गतेभित्र सबै योजनाहरु अन्तिम गरेर सबै जिल्लाहरुको जिल्ला समन्वय समितिमा बुझाउनुपर्ने छ । त्यसपछि हामी सांसद रहे पनि नरहे पनि उसले नै सबै कामको अनुगमन गर्ने काम जिम्मा दिएको कार्यविधिले गर्छ।

४. तपाईले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने धारणा राखेर जनताको मन जित्ने काम गर्नु भएको थियो । यो बिषयमा नेपाली काँग्रेस पार्टीमा छलफल र बहस कसरी चलिरहेको छ ?

यो एजेन्डा मेरो अहिलेको हैन । म नेपाली काँग्रेस काठमाडौँको जिल्ला सभापति भएको बेला भएको पार्टी अधिवेशनमा तत्कालिन हाम्रा बरिष्ठ नेता तथा हालका पार्टी सभापति शेरबहादुर देउबा कै प्रमुख अथितीमा मैले २ कुरा त्यहाँ भनेको थिए । यो राजनीति भन्ने कुरा कस्तो नसा जस्तै हो सभापति जतिसुकै बृद्ध भएपनि थाके भन्न पनि नपाईने, दुख्यो भन्न पनि नमिल्ने उ मर्न पनि तयार हुन्छ राजनीतिमा लागेपछि । ७० अथवा ७५ बर्ष नाघि सकेको मान्छे शारीरिक रुपमा अशक्त नै हुन्छ । अब कुनै-कुनैलाई बिर्सने रोग लाग्छ, कुनै कुनैलाई श्वासप्रश्वास गर्न समेत गाह्रो हुन्छ । त्यो त प्राकृतिक नै हो ।

मनमोहन अधिकारी बृद्ध भएपनि चुनाबको प्रचार-प्रसारमा जाँदा खेरी अचानक बेहोस हुनुभयो । उहाँले समयमै म हिड्न सकिन मलाई दुख्यो भनेर कहिले पनि भन्नु भएन । धेरै समय बिति सकेकोले उहाँको ज्यान नै गयो । त्यसकारण त्यो एउटा घटना । अर्को घटना हेर्ने हो भने शुशील कोइराला कै घटना हेर्न सकिन्छ । २४ गते अधिबेशन थियो २५ गते शुशील कोइराला बित्नुभयो । म २३ गते पार्टी सभापती शुशील दाईकोमा गए र म जाँदा उहाँ त राति नै बिरामी भएको अवस्था थियो । पानी एकदम परेकोले निमोनिया हुने डर थियो । अनि मैले त्यो अधिबेशनमा आउने अवस्था देखिन । तर मैले त्यो कुरा त्यहाँबाट थाहा पाए । म काठमाडौँको सभापती शुशील दाई पार्टी सभापती । शुशील दाई बिरामी हुनुहुन्छ भनेर मलाई कसैले पनि भनेन । उहाँ बिरामी हुँदा पुर्व प्रधानमन्त्रीलाई राष्ट्रले हेर्नुपर्ने मान्छे हो नि उहाँ त । त्यो कुरा मैले थाहा पाईसकेपछी बरिष्ठ नेता शेरबहादुर देउबालाई भने “शुशील दाई बिरामी हुनुहुन्छ, हाम्रो अधिबेशन हजुरले उद्घाटन गरि दिनुपर्यो ” भनेपछि हुन्छ भन्ने कुरा गर्नुभयो र त्यो कार्यक्रममा मैले के बोले भने राजनीति भनेको यस्तो हुन्छ, उ थाकेर मर्न तैयार हुन्छ तर हार मान्दैन, उ नै कमान्डर हो । त्यसैले तपाईहरुको त्याग, तपस्या गरेर पनि आकांक्षाहरु पुरा भएको छैन ।

प्रधानमन्त्री हुनेवाला, राष्ट्रपति हुनेवाला, उपराष्ट्रपति हुनेवाला धेरै छन् । त्यी नेताहरुले खास पाएका पनि छैनन् । यो पहिलो पुस्ताको त सुबर्ण शमशेर, कृष्ण प्रसाद भट्टराई त जानुभयो, दोश्रो पुस्ता भनेको रामचन्द्र जी, शेरबहादुर जी, शुशील कोइराला जी, यिनीहरु नै हुन् । त्यसपछि तेश्रो पुस्ताहरु बाँकी नै छन् । त्यसबेला मैले के भने भन्दा, तपाईहरु लडनुस र बन्नुस पनि तर हामी ७० बर्ष पुगेपछि हामीले विधानमै अब लड्न नपाउने प्राबधान राख्ने र हामी लड़दैनौ । हामीले पद खाएका थियौ, त्यो पद पनि आरेघाट नपुगेसम्म पनि लडी रहन्छु भन्ने हो भने त्यो चाहिँ स्वास्थ्यको लागि घाटा हो भनेर मैले अर्को पुस्तालाई रोक्नुस भनेको हैन । मेरो चाहिँ ७० बर्ष अथवा ७५ बर्षसम्म पुगिन्छ हेरेर त्यसलाई बास्तबमा त्यस्तो अवस्थामा चुनाब नलडेर अगाडी बढाउने तर त्यी नेताहरुको राष्ट्रलाई, पार्टीलाई बोझ गराउने, समानुपातिक र राष्ट्रिय अधिबेशनमा ल्याउने, पार्टीको केन्द्रीय सल्लाहकार राख्ने तर चुनाब लड्न दिनुहुदैन । त्यो चाहिँ स्वास्थ्यको लागि घातक हुन्छ भन्ने नै मेरो मान्यता हो । मैले त्यसैले ७० वा ७५ बर्ष काटेपछि कुनै पनि चुनाब प्रचार-प्रसारमा जानु हुदैन भनिरहेको छु । यो नै मेरो मान्यता हो ।

५. नेपाली सेनाले गरेको विकास निर्माणको कामले धेरै नेपालीको मन जित्न सफल भएको छ । नेपाली सेनाको विकास निर्माणको कार्यक्षमता अभिवृद्धि गर्न के के गर्नुपर्छ जस्तो लाग्छ ?

नेपाली सेना दक्षिण एसियाको सबैभन्दा पुरानो सेना हो । अब मैले सबैभन्दा पहिले यसपाली तराईमा बाढी गईसकेपछी सम्माननीय प्रधानमन्त्री लगायत गृहमन्त्री अनि नेपाली सेनाका प्रधान सेनापति सबै मिलेर त्यसको स्थलगत निरीक्षण गर्यौ । त्यहाँ भयाबह स्थिति थियो । त्यस्तो नेपालमा पहिलो पटक आए जस्तो लाग्छ मलाई । बिराटनगर एयरपोर्ट पुरा पानीले ढाकेको छ । काहि अवतरण गर्ने ठाउँ नै छैन । सबै जलमग्न भएको छ । सबै घरहरु डुबानमा परेको छ । गाईबस्तु सबै खत्तम भएको छ । त्यहाँ धानबाली सबै नास भइसकेको अवस्था र पानीको बिचमा बसेको मान्छेले बोल्न सक्ने अवस्था थिएन । अवतरण गर्ने अवस्था थिएन सबै बाटोहरु बगिसकेको थियो, कुलो पुल केहि पनि बाँकी नरहेको अवस्था थियो । त्यहाँबाट फर्किसकेपछि हामीले बसेको बैठकमा मैले के भने भन्दा यस्तै अवस्थामा नै हामीले नेपाली सेनालाई विभिन्न उपकरणबाट उद्धार गर्न सक्ने नयाँ प्रविधियुक्त बनाई स्रोत र साधन सम्पन्न बनाउनुपर्छ भन्ने लागेर यसतर्फ कदम चाल्न नेपाली सेनालाई निर्देशन दिएको छु ।

६. निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन भनेर सरकारले सेना परिचालन गर्नु के सान्दर्भिक छ त ?

नेपाली सेनाको परिचालन पहिलो पटक हैन । यो भन्दा पहिला निर्वाचनमा नेपाली सेनालाई तेश्रो घेरामा राखिएको थियो । पहिलो घेरामा जनप्रतिनिधि, दोश्रोमा सशत्र र तेश्रोमा नेपाली सेनालाई । यो चाहिँ निष्पक्ष तरिकाले नै कुनै किसिमको नराम्रो घटना नहोस भनेर हो । देशले धेरै बर्षपछि संबिधान पाएकोले मतदातालाई पनि डरत्रास नहोस भनेर सुरक्षा दिन यसो गरेकोले यो एकदम सान्दर्भिक छ ।

७. तपाईले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताउनु भएको थियो । यो बिषयमा मन्त्रालय र नेपाली सेना कस्तो ठोस योजनाका साथ अघि बढी रहेको छ ?

विकास निर्माण तथा प्राकृतिक बिपत्तीमा उद्धारका लागि नेपाली सेना नेपालको मेरूदण्ड नै हो । नेपाली सेनालाई देशलाई संकट पर्दा संकटवाट बचाउने संकट मोचकको रुपमा मानिन्छ । विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउन आउने आर्थिक बर्षमा उहाँहरुको माग अनुसार नेपाल सरकारले त्यसलाई ध्यान दिनेछ । यो बिषयमा मन्त्रालय र नेपाली सेना केहि ठोस योजनाका साथ अघि बढी रहेको छ ।

८. काठमाडौँ निजगढ द्रूतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । अव तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुने कुरामा नेपाली जनतालाई कसरी विश्वास दिलाउन सक्नुहुन्छ ?

अब यो नेपाली सेनालाई २०७४ साल बैशाख १ गते जिम्मा दिएको छ । अब हामीसँग साढे ३ बर्ष बाँकी छ । नेपाली सेनाले अहिलेसम्म सबै काम तोकिएको समयमा सम्पन्न गरेको अवस्था छ । नेपाली सेनाले सबै अध्ययन गरेर ट्रयाकहरु खोल्ने, ५ ठाउँमा उनीहरुको पोस्ट खोलिसकेको अवस्था छ । त्यसैले उनीहरुले कहाँ कहाँ कुन पार्टीसँग के गर्नपर्ने हो त्यो उहाँहरुले नै गर्नुहुन्छ । अर्को कुरा भनेको १.३५ कि.मी. चाहिँ सुरुंगमार्ग छ । त्यो सुरुंग मार्ग बनाउने दक्ष जनशक्तिहरु र विशेषज्ञहरु चाहिन्छ । हामीले नेपाली सेनालाई के भनेका छौ भने यहाँ जतिपनि जनशक्ति छ त्यसलाई पनि प्रयोग गर्ने र चाहियो भने नेपालबाट बाहिर काम गरेका विशेषज्ञ जति छन् उनीहरुलाई पनि संयुक्त राष्ट्रसंघको विशेषज्ञ कार्यक्रम अन्तर्गत १/२/३ बर्षसम्म उनीहरुले नै भुक्तानी गर्छ । त्यो पनि गर्न सकिन्छ, मैले त्यो प्रस्ताब पनि राखेको छु ।

बिदेशमा नेपालीहरुले काम गरेका छन्, खाडी मुलुकमा होला, जापानमा होला, सिंगापुरमा होला, यस्ता विशेषज्ञ त्यहाँ पनि होला । उनीहरुलाई हामीले खुशी साथ नेपालमा आएर आफ्नो देशको पनि सेवा गर्ने मौका दिनुपर्छ भन्ने कुरा हामीले प्रस्ताबमा पनि राखेका छौ । त्यसैले यो काम नेपाली सेनाले एकदमै आत्मविश्वासका साथ समयभित्र नै सक्ने हिसाबमा काम भईरहेको छ र सरकारले हरेक कुरालाई प्राथमिकता दिएको अवस्था छ, त्यसैले मलाई विश्वास छ, उहाँहरुले यो काम ४ बर्षभित्र नै सम्पन्न गराएर नेपाली जनताको बिश्वास जित्नु हुन्छ भन्ने मलाई लागेको छ ।

९. तपाईले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली सेनाको संरचना त्यसअनुरुपको बनाउने सन्दर्भमा सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने भन्नु भएको थियो । यो काम के हुदैछ ?

यो काम राम्रोसँग भईसकेको छैन । भोलि हामीले नेपाली सेनालाई त्यो प्रदेशको संरचना अनुसार लैजाने एउटा कार्यदल बनाएर नै केहि गर्ने कि भनेर यो बिषयमा के गर्न सकिन्छ भने छलफल भई रहेको छ ।

१०. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के शन्देश दिन चाहनुहुन्छ ?

अब आउने चुनाबमा नेपाली जनताले यदि मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न र साच्चै आर्थिक सम्वृद्धितिर लाने हो योग्य पार्टी र नेतालाई भोट दिएर बिजय गराउनुपर्छ । मेरो अर्को पनि मान्यता के छ भने यो सबिधानलाई पनि संसोधनतर्फ पनि अगाडी लैजानुपर्छ । अनि यस्तो किसिमको नेता छान्ने हो भने अब हामी संसदीय अभ्यास पनि गरिरहेका पनि छौ । अहिले पनि बहुमतको सरकार नबनाउने स्थिति अहिलेको संविधानले दिईरहेको छ । अनि सबैभन्दा उपलब्धि भनेको यो संसारमा नबनेको संबिधान हामीले बनाएका छौ । आदिबासी, महिला, दलितलाई सम्बोधन गर्ने समाबेसी, लोकतन्त्रको अनुपम उपलब्धि हो अहिले बनेको सबिधान । सकिन्छ भने प्रत्यक्ष निर्वाचन गराएर नेपाली जनताले चुन्ने प्रधानमन्त्रीको पद्धतिमा हामी जान सकियो भने त्यो अझै उत्तम उपाय हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !