देशभरी चाडै लोडसेडिङ अन्त्य हुने – ऊर्जामन्त्री शाही

देशभरी चाडै लोडसेडिङ अन्त्य हुने – ऊर्जामन्त्री शाही

चौतर्फी सहयोग भएमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीद्वारा चाडै लोडसेडिङ अन्त्य हुने घोषणा

भाद्र १३, २०७४, काठमाडौँ । कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट ऊर्जामन्त्री बन्नु भएको छ । जनयुद्धका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा पाउनु भयो । माओवादीका पुर्व लडाकू कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान रहेको छ । उर्जामन्त्री शाहीले देशैभरको लोडसेडिङ हटाउने बताउनु भएको छ । उर्जामन्त्रीको रुपमा समग्र जनतामाझ कस्ता कार्यक्रमहरु ल्याउनुहुन्छ  र  देशमा उज्यालो अभियानलाई कसरी अगाडी बढाई नेपाल अधिराज्यभरी कसरी लोडसेडिङ अन्त्य गर्नुहुन्छ भन्ने चासो पनि सवै नेपालीमा बढेको छ । जनताको यो अपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ र ऊर्जामन्त्री भई सकेपछि भावी योजनाहरु के कस्ता छन् भन्ने बारेमा केन्द्रित रहँदै नेपालपत्र अनलाईन पत्रिकाका प्रधान-सम्पादक गोपाल भण्डारीले  गरेको कुराकानी ।

१.  जनयुद्धका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा पाउनु भयो । उर्जामन्त्रीको रुपमा समग्र जनतामाझ कस्ता कार्यक्रमहरु ल्याउनुहुन्छ र देशमा उज्यालो अभियानलाई कसरी अगाडी बढाई नेपाल अधिराज्यभरी कसरी लोडसेडिङ अन्त्य गर्नुहुन्छ भन्ने चासो पनि सवै नेपालीमा बढेको छ । जनताको यो अपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ ? तपाईंका एक्सन प्लान के हुन् त ?

हाम्रो देश नेपाल भनेको जलस्रोतमा धनी देश भनेर हामीले भन्ने गरिन्छ । जलस्रोतको प्रचुर सम्भावना हुँदा-हुँदै पनि हामी किन गरीव भयौ भन्ने कुरा हामी सबैको लागि गम्भिर प्रश्न हो । यसमा हामी आम नेपाली जनताले गहिरिएर अध्ययन गर्न जरुरी छ ।  सुरुमै म यो उर्जा मन्त्रालयमा आईसकेपछी मैले पदभार ग्रहण गर्ने बेला सुरुमै पत्रकारहरुसंगको मेरो पहिलो मुख्य काम भनेको जलस्रोतको भरपुर उपयोग गर्ने हो भनेको थिए । नेपालका सबै नदीनालाहरुमा जल माफियाहरुले कब्जा जमाएका छन् । दलालहरुको घेराबन्धीमा सबै कर्मचारीहरु र राजनीतिक दलका नेताहरु फसेका छन । जसका कारणले गर्दा सदियौदेखी खोला जस्ताको त्यस्तै अहिलेसम्म त्यतिकै बगिरहेका छन । यसको प्रयोग हामीले गर्न सकेका छैनौ । मेरो पहिलो चुनौती भनेको जलमाफियाहरुबाट खोलाहरु सिधै राष्ट्र, जनता र सरकारको मातहतमा ल्याउनु नै हो ।

जलस्रोतको हामी धनी छौ भन्छौ तर हाम्रो देशमा खानेपानीको ठुलो अभाव, प्रयाप्त मात्रामा सिंचाई गर्न नसकिएको अवस्था र भारतबाट बिजुली किनेर बलिरहेका छौ ।  त्यसैले अब नेपालमा बिजुली उत्पादन हुने क्षमता कति छ यसलाई एकिकृत परियोजनाभित्र ल्याएर ठुलो मास्टर प्लान (Master Plan) बनाएर Detail Survey गर्न आवश्यक छ । हाम्रो पुरै नदीको सिरानदेखी सिमा क्षेत्रसम्म नदि बेसिनहरुमा कति जलबिद्युत बन्न सक्छन भन्ने कुराहरुको बारेमा सबैभन्दा पहिले त Master Planning गर्नु जरुरी छ । यसका लागि मैले जल तथा उर्जा आयोगलाई तुरुन्तै तपाईहरुले योजना गर्नुस । पैसाको ब्यबस्थापन मैले गर्छु भनेको छु । अहिले कर्मचारी संचय कोष, सेनाको कल्याणकारी कोष र प्रहरीको कल्याणकारी कोषमा कति बजेट छ र अन्य निकायमा रहेको कुल बजेट कति छ । त्यसपछि आम नेपाली जनतासंग कति बजेट छ, त्यो पैसालाई पनि केन्द्रीकरण गरौ । यसले नेपालमा कति वटा जलबिद्युत आयोजनाहरु बनाउन सकिन्छ भन्ने कुराको अध्ययन गरी यो काम तुरुन्त अघि बढाउनुपर्छ । त्यसपछि पुगेन भने हामीले अन्तराष्ट्रिय लगानीकर्ता ल्याउने बारेमा पनि सोच्नु पर्छ भनेर हामीले भनेका छौ ।

नेपालमा धेरै उत्पादन भयो भने खपत गर्न सकिदैन, धेरै जलबिद्युत बनाउन जरुरी छैन भन्ने तर्कहरु पनि आउछन । जुन तर्क भनेको कुनै पनि आयोजना अगाडी बढाउन नदिने फेरि अरु कै भरपर्नुपर्ने नियतबाट गरेको यो तर्कमा कुनै दम र बैज्ञानिकता छैन ।  त्यसैले म के भन्छु भने सबैभन्दा बढी उत्पादनको क्षमता भएको देश पनि नेपाल नै हो र त्यसपछि धेरै खपत गर्ने देश पनि नेपाल नै हो । नेपालमा पर्यटक क्षेत्र, कृषिमा त्यतिकै खपत हुन्छ ।  नेपालमा कैयौ खानिजहरु छन्, तिनीहरुलाई उत्खनन गर्न पनि धेरै शक्ति खर्च हुन्छ ।  नेपालमा सस्तो श्रमशक्ति जुन अहिले थुप्रै युवाहरु बाहिरी मुलुकहरुमा गएर १५/२० हजारमा काम गरिरहेका छन् । नेपालमा ठुला-ठुला जलबिधुत आयोजना अघि बढाउने हो भने नेपालमा अन्तराष्ट्रिय कम्पनीहरु आउछन र रोजगारीका अवसरहरु पनि खुल्छन । भोली फेरि नेपालमा कैयौ उद्योग, कलकारखानाहरु स्थापित हुन्छन । यसरी स्थापित हुदा कैयौ विद्युत खपत हुन्छ ।

मेरो योजना भनेको पुर्व-पश्चिम तराई पूर्वको झापा मेचीदेखी पश्चिमको महाकालीसम्म तराईमा हामीले ७०० कि.भी. र मध्य पहाडी राजमार्गमा ४०० कि.भी. प्रसारण लाईन हामीले बनाउनुपर्छ । त्यो भनेको सबैभन्दा ठुलो चुनौती हो ।  त्यसैले हामीले जति पनि बिद्युत प्रबाह गर्नसक्छौ । भोली त्यसमा प्राकृतिक प्रकोप जस्ता समस्या आयो भने २ ओटा प्रसारण लाईन भएमा समस्या आउदैन । यसका लागि आवश्यक बजेटको बारेमा पनि बिश्व बैंक, अन्तराष्ट्रिय लगानीकर्ता र अन्य लगानीकर्ताहरुसंग पनि कुरा हुदैछ । ल आउ एउटा मोडममा तिमीले लगानी गर, पैसा पनि आफै जम्मा गर, काम पनि तिमी आफैले गर भनेका छौ, त्यो भयो भने हाम्रो काम पनि अगाडी बढ्छ । त्यसपछी जतिपनि बनेका जलबिद्युत आयोजनाको उत्पादनलाई हामीले सिधै हाम्रो मुख्य लाईनमा जोड्न सक्छौ । यी दुइटा कामहरु संगै हुनुपर्छ ।  तेश्रो कुरा भनेको अहिले हाम्रो वितरणको कुरा छ । अहिलेको अबस्थामा जलबिद्युतको चुहावट नियन्त्रण गर्नुछ । म मेरो कार्यकालमा यो संस्थालाई फाइदामा ल्याउछु भने अर्को भनेको काठमाडौँ लगायत देशभरी लोडसेडिङ अन्त्य गर्ने योजनामा लागिरहेको छु ।

२.     पहिलोपटक मन्त्री बनेपछि कस्तो अनुभव गरिरहनुभएको छ ? मन्त्री हुँदा  के कस्ता अवसरहरु र चुनौतीहरु हुँदा रहेछन त ?

यो दुईवटैको रुपमा मैले लिएको छु । यो  मन्त्रालय भनेको अघि नै मैले भने दलालहरु, माफियाहरु कब्जामा रहेको र जमाएको मन्त्रालय हो ।  त्यसैले यी चुनौतिको सामना मैले आफै गर्नुछ ।  यसलाई अगाडी बढाउनुछ, चुनौतीलाई छलेर । जहाँ चुनौती हुन्छ त्यहाँ नै अवसर पनि हुन्छ । अवसर भनेको चुनौती बिनाको हैन । चुनौतिको सामना गर्ने मलाई अवसर प्राप्त भएको छ । त्यो मैले चाहिँ गर्नसक्दछु । यसमा नै मेरो व्यक्तिगत जीबन छ भन्ने कुरा मैले बुझेको छु ।  यसरीमा यो चुनौतीबाट आतंकित छु, भयभित छैन । यो चुनौतिको डटेर सामना गर्न म सक्छु र यसरी मैले चुनौतिको सामना गर्नसक्छु भन्ने हिम्मत, आँट ममा छ, म यो गराएर नै छोड्छु भन्ने म प्रतिबद्धता दिन चाहन्छु ।

३.  पुर्व-पश्चिम राजमार्गमा तारहरुलाई जमिनमुनि गर्ने बारेमा चाहिँ के छलफल भईरहेको छ त ?

सबै ठाउँमा हुन्छ भन्ने छैन । काठमाडौँको एउटा ठाउँमा चाहिँ हामीले गर्न खोजिरहेका छौ । अब काठमाडौँ लगायत ठुला सहरहरुमा सबै तारहरुलाई जमिनमुनि गर्ने योजनामा छौ, त्यो चाहिँ हुन्छ ।

४.  विद्युत महशुल भुक्तानी अनलाइनबाट शुरु भई सकेको छ । यसलाई  प्रभावकारी कार्यन्वयन गर्न मन्त्रालय कसरी अघि बढी रहेको छ ?

अहिले १०/१५ दिनका लागि काठमाडौँमा मात्र विद्युत महशुल भुक्तानी अनलाइनबाट भनेका छौ ।  हामी १५ दिन पछाडी देशभरि एकैपटक अनलाईन सिस्टममा जाने तयारी गर्दैछौ । त्यसका लागि आवश्यक कर्मचारीको ब्यबस्था हुँदैछ । अब हामीले यो हुदैन नि, ढिला-सुस्ती हुन्छ भन्ने कुरा कारण देखाउने भनेको गर्न नचाहनु  हो किनकि हामीले यो कुनै नयाँ आविस्कार गर्न खोजेको हैन । अरुले बिकसित गरेर प्रयोग गरी सकेको प्रबिधी मात्र हामीले प्रयोग गरेको हो । प्रयोग गर्न सकिन्छ यसमा कुनै कठिनाई छैन । कुनै पनि किसिमको गाह्रो छैन सजिलै गर्न सकिन्छ ।

५.  बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइमा सरकारले कस्तो कदम चालि रहेको छ ?

अब अहिले त हामो काम भनेको त आयोजना जति सकिन्छ, छिटो सकाउनु नै हो । बुढीगण्डकीको सम्झौता भएको छ । सम्बन्धित निकायले जिम्मा लिएको छ । यसले जतिसक्छ चाँडो काम अगाडी बढाओस भन्ने हामी चाहन्छौ । यसका लागि हाम्रो मन्त्रालयबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न काहिँ कतैबाट पनि कमि हुन म दिन्न ।  हाम्रो तर्फबाट काममा केहि बाधा अबरोध खाडा हुन दिन्न । साथै लगानी गर्ने र काम बनाउने जिम्मा जसलाई दिएको छ, जतिसक्दो चाडो गर्नैपर्छ । अब यो काम नगर्ने लाईसेन्स लिएर मात्र झोलामा हालेर बस्ने र व्यापार गर्न हिड्न खोज्यो भने त्यो व्यक्तिको लाईसेन्स खारेज हुन्छ । झोलामा लाईसेन्स राख्न कसैलाई पनि दिइनेछैन । तोकिएको समय अबधीभित्र नै काम अगाडी बढाउछ, हैन भने हामीले खारेज गर्छौ र अर्को नामक कम्पनीलाई हामीले दिन्छौ ।

६.  अघि तपाईंले बिजुलीको बक्यौता नबुझाउदा कारबाही हुन्छ भन्नु भयो नि ? कस्तो किसिमको कारबाही हुन्छ ?

अहिले हामीले १४ दिन भित्र बख्यौता तुरुन्तै अन्तिम बुझाउनुहोस भनेर अनुरोध गरेका छौ । हाम्रो यो चाहिँ अनुरोध हो । अब यो अनुरोधलाई नमानी अटेरी गर्यो भने हामीले उठाउन रहेको उठाउछौ पनि र बिद्युत प्रशारण बन्द गर्न पनि सक्छौ ।

७. झोलामा खोला बोकेर हिँड्ने तर, काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिनुभएको छ ? कस्तो प्रकृतीको कारवाही हुन्छ त ?

अस्ति नै सूचना सार्बजनिक गरिसक्यो । तुरुन्तै सार्बजनिक गर्नुस भनेर मैले निर्देशन पनि गरीसके र उसले पनि तुरुन्तै त्यस्ता कम्पनीहरुलाई चिठी पनि काटी सक्यो । सार्बजनिक सूचना पनि गरिसक्यो । अब तुरुन्तै सम्पर्क गरेर बोलेकै दिनबाट काम अगाडी बढायो भने हामीले जसरी पनि हामीले काम अगाडी बढाउन चाहन्छौ ।  गरोस् भन्ने चाहना भन्ने हो हाम्रो पनि । छिटो गरोस् भन्ने नै हाम्रो चाहना हो । अब भारतबाट बिद्युत ल्याउन नपरोस भन्ने नै हाम्रो चाहना हो । हामी त्यो चाहन्छौ । छिटो काम अगाडी बढाउनुपर्यो यदि कुनै कारणबस अटेरी गरेर मानेनन् भने लाईसेन्स नै हामीले खारेज गर्छौ र सरकारको बास्केटमा ल्याउछौ त्यो झोलामा हालेका खोलाहरुलाई सरकारको बास्केटमा आउछ । हामी काम गर्ने योजनाहरुलाई चाहिँ दिन्छौ ।

८.  पञ्चेश्वर र चमेलिया जलविद्युत आयोजनमा भइरहेको ढिलाइमा सरकारले कस्तो कदम चालि रहेको छ ?

अब चमेलिया त हामीले छिट्टै संचालनमा ल्याउदैछौ, यसका लागि अस्ति नै बोलाएर कुराकानी गरिसके । जति सकिन्छ त्यति चाडो काम सम्पन्न गर्नुस अबको १ बर्षमै भनेर मैले भनेको हो । उहाहरुले डेढदेखि २ महिना लाग्नसक्छ भनेर भन्नु भएको छ । अब लगभग लगभग कार्यप्रगती अन्तिम चरणमा पुगेको छ र हामीले संचालनमा ल्याउछौ । अब पंचेश्वरको बारेमा चाहिँ अहिले छलफल मै छ अब यो त अलिकति अन्तराष्ट्रिय कुरा पनि भयो । अब यसमा चाहिँ नेपाल भारतको उपलब्धिहरुको बाडफाडको कुरा पनि भयो । यस्तो कुराहरुमा अलिकति केहि कुरा चाहिँ मिलेको छैन । त्यसो भएकोले अहिले त्यतिकै अवस्थामा छ । जस्ताको त्यस्तै अवस्थामा छ, अगाडी बढ्न सकेको छैन ।

९.  प्राधिकरणले आउँदो हिउँदमा लोडसेडिङ हुनसक्ने संकेत गरिसक्यो । अझै सुख्खा समयमा संकट थपिने दिन आउँदैछ । लोडसेडिङ न्यूनिकरण गर्ने तपाईंको योजना के छ ? अहिलेको अँध्यारोमुक्त उपत्यकामा लोडसेडिङ नहुने आधार के छ ?

अब यसका लागि त हामीले २/३ वटा कुराहरु सोचिरहेका छौ । एउटा भनेको अब अहिले हामीसंग भएको बिधुत शक्तिलाई हामीले कम भन्दा कम खपत हुने किसिमको ब्यबस्थापन चाहिँ गर्छौ । दोश्रो कुरा भनेको हामीसंग भएको सम्पूर्ण देशभरिको बिधुत शक्तिलाई सबै ठाउँमा पठाउन सक्ने केहि सुधार हामीले गर्छौ । अर्को भनेको चुहावटलाई जतिसक्दो हामीले घटाउछौ । त्यसपछि अर्को भनेको केहि बिधुतशक्ति चाहिँ हामीले भारतबाट जोड्छौ । त्यो भयो भने अब हामीले लोडसेडिङ हुन दिदैनौ । अब कामलाई अगाडी बढ्न भने दिनु पर्यो । काम गर्ने क्रममा काहिँ कतैबाट पनि अबरोध हुन दिनु भएन । केहि निर्माण जिम्मा लिएका कम्पनीहरु छन् ।  उनीहरुले चाडै सक्दिनुपर्यो । अनि त्यो भयो भने हामीले लोडसेडिङ नहुने कुरातिर हामी लाग्छौ ।

१०.  हिउँदमा विद्युतको माग व्यवस्थापन गर्न अघिल्ला ऊर्जा मन्त्रीले अघि बढाएको लिड बल्ब खरिद प्रक्रिया अघि बढ्छ कि बढ्दैन ?

अब हामीले यसलाई हिजो नेपाल बिधुत प्राधिकरणले नै खरिद गर्ने भन्ने कुरा थियो । अव नेपाल बिधुत प्राधिकरणले खरिद गर्दैन र हामीले तोकिएको जुन मापदण्डभित्र अन्य नेपाली कम्पनीहरुलाई वितरण गर्ने अनुमती दिन्छौ । कम भन्दा कम बिधुतशक्तिका लिड बल्बहरु तिमीहरुले वितरण गर भन्छौ । बरु हामीले गाउँघरमा चाहिँ वितरण केन्द्रहरु खोल्ने ब्यबस्था मिलाई दिन्छौ ।

११.  लिड बल्ब जनताले किन्नपर्छ कि सरकारले किन्दिन्छ ?

नेपाली कम्पनीहरुले नै किनेर ल्याएर नेपाली जनतालाई सुपथ मुल्यमा बेच्न सक्छन । हामीले तोकिएको मापदण्ड, गुणस्तरको लिड बल्ब हामीले तोकेको मुल्यमा उनीहरुले दिनुपछ । यसो गर्दा कम्पनीहरु पनि प्रतिस्पर्धा गरेर आउन सक्छन । हामीले किनेर बेच्न त हामीले सक्दा पनि सक्दैनौ र समयले पनि भ्याउदा पनि भ्याउदैन ।  फेरि हामीले व्यापार गर्दै हिड्ने कुरा पनि भएन । त्यो ब्यापारीहरुको काम हो ।

१२.  नेपाल अधिराज्यभरि लोडसेडिङ अन्त्य गर्न सम्भब छ ? सम्भब छ भने कति समय लाग्छ त यो ?

यो अब सम्भब छ । तर केहि कामहरुमा ढिला-सुस्ती भईरहेको छ । अब निर्माण कम्पनीहरुले जति चाडो काम सम्पन्न गरे त्यती चाडो नै यसको अन्त्य हुन्छ । अहिले अब केहि अलिकति गाह्रो केहि स्टेसनहरु बनाउन बाकी छ । केहि अब लाईनहरु विस्तार कुराहरु बाकी छ । यो हुने बित्तीकै चाडै लोडसेडिङको अन्त्य हुन्छ ।  कुनै पनि ठाउँमा तर ठेकेदारले काम गरेको छैन ढिला-सुस्ती गरेका छन्, विभिन्न बहाना गरेका छन् । कोहि सम्पर्क मै छैनन । यसले गर्दा गाह्रो भईरहेको छ । काम चाहिँ जति गतिमा चाडो गर्न सक्यो त्यति छिटो लोडसेडिङ अन्त्य हुन्छ । चौतर्फी सहयोग भएमा देशभरी चाडै लोडसेडिङ अन्त्य हुनेछ ।

 

१३.    नेपाल अधिराज्यभरि लोडसेडिङ अन्त्य गर्न के गर्नुपर्छ ?

नेपाल अधिराज्यभरि लोडसेडिङ अन्त्य गर्न निम्न कामहरु हुनु जरुरी छ :

१.     बिधुत चुहावट अन्त्य गरेमा ।

२.     बिधुत प्रशारणमा सुधार ल्याएमा ।

३.     बिधुतशक्तिलाई मितब्ययिता अपनाएमा ।

४.     कर्मचारीले खटाएको ठाउँमा दिईएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गरेमा ।

५.     सब-स्टेशन, प्रशारण लाईन लामो समयदेखि अलपत्र परेका आयोजना, निर्माण कम्पनी र ठेकदारहरुले रात-दिन लगाएर तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गरेमा ।

१४.  विद्युतको दिगो विकास गर्न तपाईंको कार्यकालमा कति जलाशय आयोजनाको काम अघि बढ्ने अवस्था छ ?

अब यो कुरामा मैले छलफल गरिरहेको छु, जति सकिन्छ धेरै गर्ने भन्ने म छु । मेरो योजना भनेको अब १, २, ३, ४, ५ हैन सैयौ हामीले एकैपटक अगाडी बढाउनपर्छ भन्ने चाहिँ मेरो मान्यता हो । म गर्न पनि गर्छु, सैयौ आयोजनाहरु एकैपटक अगाडी बढाउने हो । कि हामी गर्छौ भनेर आउने कम्पनीहरुलाई मैले चाहिँ जिम्मा दिने काम गर्ने हो । त्यसपछि हेरौ सकेनन भने हामीले लाईसेन्स खारेज गरिहाल्छौ ।

१५.  विद्युत प्राधिकरणको विद्यमान चुहावट १८ प्रतिशतमा झार्न निर्देशन दिनुभयो । कार्यान्वयन नभए के हुन्छ ?

अब कार्यन्वयन नभए कर्मचारीलाई कारबाही हुन्छ । चुहावट गराउने कर्मचारीलाई कारबाही हुन्छ ।

१६.  विद्युत प्राधिकरणका कर्मचारी आयोजनास्थल नगई केन्द्रमा बसेर तलब भत्ता खाने परिपाटी छ । यो प्रवृत्ति हटाउन सक्नुहुन्छ ?

अब खटाएको ठाउँमा नजाने तोकिएको काम नगर्ने कर्मचारीहरुलाई कारबाही हुन्छ ।

१७.  विदेशी लगानी ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि नयाँ रणनीतिहरु के कस्ता छन ?

एउटा लगानी गर्नका लागि सहज बाताबरण नीतिमा मैले अघि नै भने नीति बनाउने, लगानी गर्दा सहज बाताबरण बनाउने सिर्जना गर्नुपर्दछ । बनको समस्या, व्यक्तिगत जमिनको समस्या, कर्मचारीले गर्ने ढिला सुस्तीको समस्या, यसलाई हामीले तुरुन्तै एकैपटक अहिले के भएको छ भने निरिक्षण गर्छौ । अलि दुर्त गतिमा काम गर्ने के, एकै टेवलमा काम गर्ने, एकै तरिकाबाट काम हुने तरीकाले हामीले सोच्नुपर्छ । अब त्यो किसिमको नीति हामीले बनाएर जानुपर्दछ । दोश्रो कुरा भनेको उत्पादन गरिसकेपछि अब त्यहाको निकाल्ने जुन बिधुतशक्ति हो यसको कारणले लगानीकर्ताहरुलाई पनि घाटा नहुने र हामीलाई पनि घाटा नहुने गरी लगानी गर्ने हो भने लिने र दिने कसैलाई पनि घाटा नहुने  दुई जनालाई नै फाइदा हुने किसिमको खरिद सम्झौताको व्यवस्था गरिन्छ । त्यसपछि तेश्रो कुरा भनेको जति उत्पादन हुन्छ त्यति हामीले लिई दिन्छौ । यो उत्पादन गर्ने मान्छेले पनि कहाँ खरिद गरौला भन्ने झन्झटबाट पनि मुक्त गराउछ । केवल उहाहरुले उत्पादन मात्र गर्नुपर्यो ।  त्यसपछि हामीले उहाको आम्दानी यति प्रतिशत हो भनेर पनि प्रतिबद्धता दिन्छौ । त्यो भयो भने उहाहरु सहज ढंगले लगानी गर्न आउनुहुन्छ ।

१८.  अरु भन्न छुटेका केहि कुराहरु छन ?

भन्ने कुरा त मैले सबै भने अन्तिममा के भन्न चाहन्छु भने यो देशको लागि चाहिँ केहि गरौ । व्यक्तिगत स्वार्थ, आफ्नो स्वार्थको लागि मात्र सोच्ने मान्छे यो देशमा प्रशस्तै भए । जति पनि छन्, तर सिंगो राष्ट्रको लागि, जनताका लागि, अर्काका लागि सोच्ने मान्छेहरु एकदमै कम छन् । कर्मचारीले पनि आफ्नो फाइदा कहाँबाट आउछ भन्नेतिरै ध्यान छ । राजनीतिक दलका नेताहरुलाई पनि कहाँबाट फाइदा कहाँबाट आउने हो भन्ने कुराको चिन्ता छ । राष्ट्रको हित, जनताको हित कहाबाट हुन्छ भन्ने कुरा सोच्दैनन् । त्यसैले यो समाजमा राजनैतिक क्षेत्रमा देखिएका बिकृतिहरु विसंगतिका बिरुद्ध ढुक्क भएर लड्न, प्रतिरोध गर्न, साच्चिकै राष्ट्र र जनताका लागि सोच्ने पात्रहरु को हुन्, सोच्ने शक्तिहरु को हुन् भन्ने कुराको पहिचान गर्न जरुरी छ ।  देशमा त दलाली गर्ने, देशलाई गलत दिशातिर लैजाने र आफ्नो व्यक्तिगत स्वार्थको लागि जे गर्न पनि तैयार हुने, जे पनि निर्णय गर्न पनि तैयार हुने, यस्ता मान्छेलाई जनताले कारबाही गर्नैपर्छ । बहिष्कृत गर्नुपर्छ । यो देश जोगाउ, राष्ट्रको पक्षमा हामी सबै उभिउ, राष्ट्र बचाऊ, देश बनाउ, यहि कुराको आग्रह अनुरोध गर्न चाहन्छु र समाजमा भएका हरेक बिकृतिहरुका बिरुद्धमा सशक्त ढंगले लडौ ।

१९.  अन्त्यमा, नेपालपत्र मार्फत के भन्न चाहनुहुन्छ ?

अब तपाइको यो नेपालपत्रले खेलेको महत्वपूर्ण भूमिका छ । म के भन्न चाहन्छु भने अबको दुनिया भनेको तपाइको सूचना र प्रविधिको दुनिया हो र समाजमा सत्य-तथ्य सूचना प्रबाह गर्ने, अहिलेको दुनियाको वर्तमान अवस्था के छ ? भन्ने कुराहरुको बारेमा बोध गराउने र भविष्यका हाम्रा चुनौतिहरु के हुन् र सम्भावना के हुन् कुराहरुको पहिचान गराउने एउटा ठुलो कार्ययोजनाको एउटा अभियान पत्रकारिता हो । यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु । अभियानको भूमिका निर्वाह गर्यो जसले गर्दा समाजमा रहेका बिकृति, विसंगतिहरुको प्रहार चाहिँ यसले गरोस् । राम्रो चिजलाई स्थापित गरोस् भन्ने कुराहरु यो पत्रिकालाई भन्न चाहन्छु ।