
धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई आज बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेतापनि चौधरीले राजीनामा नदिएकोले उनी बर्खास्तीमा परेका हुन् ।
बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेपछि मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्ट मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएका थिए ।
कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप मन्त्री चौधरीमाथि लागेको थियो। सोही कारण चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले आग्रह गरेका थिए।
मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी रूष्ट बनेको छ। उसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।