१ मंसिर, काठमाडौं । नेपाल सरकारको सेवामा लामो समय ३६ बर्ष बिताउनु भएका युवराज भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । उहाँले वन मन्त्रालय र अर्थ मन्त्रालयमा सचीव भएर काम गर्नुका साथै राष्ट्रिय योजना आयोगमा सदस्य सचीव भएर पनि काम गर्नु भएको थियो । पहिलेदेखि नै नेपाल सरकारको निजामती सेवामा लामो समयदेखि काम गरेका बरिष्ठ प्रसाशकलाई सीईओ बनाएको भए काम चाडै हुन्थ्यो र प्रगति छिटो देख्न सकिन्थ्यो भन्ने धारणा राख्नु भएको छ । उहाँ सामु रहेका चुनौतीका चाङहरुलाई अवसरमा बदली तीन महिनाभित्र देखिने गरी काम गर्छु भन्नु भन्ने अठोट लिई आफूलाई योग्य प्रमाणित गर्न कार्यक्रम र नयाँ रणनीति बनाएर अहोरात्र खटिरहनु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ भई सकेपछि भावी योजनाहरुमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।
१. तपाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भई सकेपछि के कस्ता नयाँ कामहरु गर्ने योजनाहरु छन् ?
नयाँ तरिकाले भन्दा पनि अझ व्यवस्थित तरिकाले भन्न रुचाउछु यसका लागि हाम्रा पूर्व प्रमुख कार्यकारी अधिकृतज्यूहरुले गरेका कार्यहरुलाई थप पूर्णता दिने उद्देश्यले मैले थप गृहकार्यको थालनी गरेको छु, पहिलो कुरा म विकास योजनाको बिद्यार्थी भएकाले मैले सबभन्दा पहिला लक्ष्य निर्धारण गरेको छु, लक्ष्य के भने आगामी जेष्ठ मसान्तभित्र ६०% भन्दा वढी निजि घरमा अर्थात् जो भूकम्प पिडित दाजुभाई दिदिबहिनीहरु जो टहरा र असुरक्षित आवासमा बस्नु भएको छ, उहाँहरुलाई घरभित्र राख्ने, यो मैले पहिलो लक्ष्य राखेको छु र यही आर्थिक वर्षभित्र केहि महत्वपूर्ण हाम्रा सम्पदाहरु शिलन्यास र निर्माण कार्य शुरु गराउने र केहि बस्ती स्थानतरणको कार्य पनि शुरु गर्ने यी तीनवटा कामहरु मैले मुख्य रुपमा अगाडी सारेको छु र केहि जीविकोपार्जनका कामहरु योसंगै अघि वढाउदै लैजाने उद्देश्यका साथ क्रियाकलाप संचालन गरिरहेको अवस्था छ ।
२. सचिव र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ हुँदा के कस्ता अवसरहरु र चुनौतीहरुमा फरक हुन्छ जस्तो लाग्छ तपाईलाई ?
सचिव भएर काम गर्दा मन्त्रालयको माननीय मन्त्रीज्युहरुको सामान्य निर्देशनमा रहेर काम गर्दा कतिपय अवस्थामा अलि गाह्रो र अप्ठारो अवस्था पनि हुन्थ्यो, अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियत चाहिँ माननीय मन्त्री सरहको दिइएको रहेछ । अब, मेरो प्रत्यक्ष उत्तरदायित्व सम्माननीय प्रधानमन्त्रीज्यूसंग रहन्छ, प्रधानमन्त्रीज्यूवाट हामीलाई धेरै सहज र सहजीकरण गर्ने कामहरु भैरहेको हुन्छ, कुनै त्यस्तो किसिमको दबाब सिर्जना हुनसक्दैन त्यसैले यस पदमा रहेर स्वतन्त्र रुपमा काम गर्न सकिन्छ जस्तो मैले अनुभब गरेको छु ।
३. म पहिले नै सीईओ भएको भए टहराको बासबाट मुक्त गराइसक्थें भन्नु भएको छ । के यो सम्भव थियो त ?
टहराको वासबाट मुक्त गरिसक्थे भनेर भनेको चाहिँ होइन, पहिलेदेखि नै नेपाल सरकारको निजामती सेवामा लामो समयदेखि काम गरेका बरिष्ठ प्रसाशकलाई जो कोहि पनि साथीहरुलाई राखेको भए शायद यो समन्वयको झमेलाहरु हुने थिएन, अलि चाडै काम हुन्थ्यो र केहि प्रगति अलि छिटो देख्न सकिन्थ्यो कि, भन्नेसम्म मैले कुरा राखेको हु, म नै भए हुन्थ्यो भन्ने मैले व्यक्तिगत रुपमा भनेको होइन अथवा यो हैसियतको मान्छे राखेको भए सरकारलाई सजिलो हुन्थ्यो, समन्वय गर्न भन्ने खालको मात्रै हो ।
४. तपाई सामु चुनौतीका चाङ छन् भनिन्छ । तर काम गरेर आफूलाई योग्य प्रमाणित गर्नेछु भन्ने तपाईको कुरालाई बिश्वास गर्ने आधार के छ त ?
यसमा मैले चुनौतीका चाङ त छन् बाहिरवाट देखिन्छन तर मैले चुनौतीहरु भन्दा पनि धेरै काम गरेर देखाउने अवसरको रुपमा यसलाई लिएको छु । चुनौती भन्दा म अवसर भन्न चाहन्छु मेरो लागि बाहिरवाट हेर्दा चुनौती नै हो, अवसर यस अर्थमा हो कि म अहिले हाम्रो सनातन धर्मका आधारमा ब्रह्र्चर्य, गृह्स्थ, वनप्रस्थ र सन्यास चारवटा आश्रम हुन्छन, म अहिले वनप्रस्थ आश्रममा छु, ६० वर्षको उमेरमा, अब मैले यो अवसरमा सम्पूर्ण मानव जाति जो विशेष भूकम्प पिडित हुनुहुन्छ उहाँहरुको आशु पुछन् सके र उहाँहरुलाई केहि योगदान गर्न सके भने मलाई पनि अत्यन्त सन्तोष लाग्ने छ । एउटा यो सबभन्दा ठुलो अवसर पाएको ठुलो मानवीय काम अवसरकै रुपमा हो । यस महत्वपूर्ण समयमा अन्य क्रियाकलाप घुम्ने खाने मस्ती गर्ने भन्दा पनि यो काम गरेर देखाउने सुनौलो मौकाको रुपमा लिएको छु र आफुलाई योग्य प्रमाण गरेर देखाउछु भनेको सत्य हो । अब यो गर्ने क्रममा मैले विभिन्न रणनीति र कार्यकमहरु अगाडी सारेको छु ।
५. भूकम्प पीडितले राहत महसुस गर्ने कामको थालनी कहाँबाट कसरी हुन्छ ?
भुकम्प पीडितले राहतको महसुस पार्ने कामको थालनी मैले पहिला १४ वटा जिल्लाका हरेक वडामा कमसेकम एउटा प्राविधिक रहने अर्थात् इन्जिनियर वस्ने वातावरण मिलाउने, लाभदायीको संख्या हेरेर दुई-तीन जना पनि रहने स्थिति हुन्छ । उहाँहरु वडा तहमा नै वडा प्रतिनिधिहरुसँग र सम्वन्धित जो सेवाग्राही हुनुहुन्छ उहाँहरुसँग छलफल गरी अवस्था अनुरुप कस्तो खालको भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि छलफल गर्नुहुन्छ । कम्तिमा मंसिर महिना भित्रमा इन्जिनियरहरु आफ्नो कार्यक्षेत्रमा पुगिसक्नुहन्छ, यो प्राविधिकको कुरा भयो,त्यसपछि उहाँहरुलाई काठ सामग्रीको आपूर्तिमा समस्या भयो भने के होला भन्ने अनुमान गरेर बन मन्त्रालय र नेपाल टिम्बर कर्पोरेशनका प्रतिनिधिहरु बोलाएर त्यो समस्याको समाधान हुने गरेर कार्य भैरहेको छ ।
त्यस्तै गरी स्थानीय तहमा निर्माण सामग्री ढुंगागिट्टी बालुवा लगायतका निर्माण सामग्री प्रयोगको आपूर्ति व्यवस्था सहज नभएको हुनाले स्थानीय तहका जनप्रतिनिधिमुलक, महासंघ, नगरपालिका महासंघका प्रतिनिधिहरुलाई काठमाडौँमा बोलाएर २८ बुदे खुला प्रतिबद्दतापत्र जसलाई घोषणापत्र पनि भन्ने गरिन्छ, जारी गरेर उहाँहरुको सहमति पनि हामीले लिई सकेका छौ । त्यसपछि नक्सा पास गर्दा सिफारिस दस्तुर नलिने, नक्साको पैसा नलिने नक्सा पनि आफै बनाइदिने, तमाम कामहरुमा उहाँहरुले सहमति गरिसक्नु भएको छ ।
त्यसपछि महत्वपूर्ण कुरा के छ भने बैंकहरु, वित्तीय संस्थाहरुले ऋणहरु दिने सम्बन्धमा बैंक र वित्तीय सस्थाहरुसगँ छलफल गरिसकेका छौ र त्यसको लागि एउटा विस्तृत रुपमा कार्ययोजना तयार गरेर एउटा कार्यचार्ट तयार गर्नका लागि मंसिर ७ को म्याद दिएर हाम्रै सहसचिवज्युको संयोजकत्वमा सवै सरोकार पक्षहरुलाई राखेर समिति बनाएको छ । उहाँहरुको रिपोर्ट ल्याउनुहुन्छ तत्काल भनीहाल्नुपर्ने कुरा के हो भने “क” श्रेणीका बैंकलाई मात्रै स्थानीय तहमा तथा सरकारी कारोवार गर्ने अनुमति थियो अहिले हामीले “ख” श्रेणीका बैंक अर्थात् विकास बैंकहरुले पनि स्थानीय तहमा कारोवार गर्न पाउने व्यवस्था विकास बैंकहरुले पनि स्थानीय तहमा कारोवार गर्न पाउने व्यवस्था गरिसकेका छौ । त्यसले गर्दा ऋण सम्बन्धमा समस्या नहोला ।
अब अन्तिम कुरा के छ भने सिकर्मी डकर्मी नपाईएको अवस्था छ , ५५-५६ हजारमा तालिम दिएका हौ, ती तालिम दिएकाहरुले काम त गरिरहनु भएको छ, कतिपय ठाउँमा अझै नपुग भन्ने आएको छ । त्यसको लागि हामीले यो तालिम प्रदायक संस्थाका प्रतिनिधिहरुलाई बोलाएर हामी फेरि छलफल गर्दैछौ र कसले कति तालिम दिने हैसियत राख्नुहुन्छ, अब समानान्तर रुपमा सवैलाई यही २ महिना भित्र ७ दिने तालिम दिएर करिब २५-३० हजार कमसेकम दक्ष सिकर्मी डकर्मी उत्पादन गरेर उहाँहरुको सम्पूर्ण विवरण हाम्रो वेबसाईटमा राख्ने र स्थानीय तहका सरकारहरुलाई उपलब्ध गराउने र कार्यक्षेत्रमा जाने इन्जिनियरलाई उपलब्ध गराउने र स्थानीय तहमा जहाँ-जहाँ काम छ उहाँहरुले आपसी वार्ताद्द्वारा समाधान गरेर निर्माण कार्यलाई तिब्रता दिने यो कामहरुको गृहकार्य हामीले गरिसकेका छौ, अनि यी सवै कामको अनुगमन र सुपरिवेक्षण गरेर प्रविधिकको कार्य समितिमा ४ जना सदस्यहरु हुन्छ र उहांहरुलाई जिल्लाहरु तोकेर समग्र समस्याहरु स्थानीय तहमा गएर हेर्ने निर्देशन दिइसकेको छ र मै पनि आफु अनुगमन गर्न जान्छु । यसरी सवै कुराहरु स्थानीय तहवाटै समाधान गर्ने व्यवस्था मिलाएका छौ ।
६. पहिलाका सीईओ भन्दा तपाईंको नेतृत्वले के कस्ता फरक काम गर्नेछ ?
पहिलेका प्रमुख कार्यकारी अधिकृतहरुले धेरै कामहरु गर्नुभएको छ यसको स्थापनाकालदेखि त्यसपछि अध्ययन गराउने नीति नियम कार्यविधिहरु बनाउने तमाम कामहरु उहाँले धेरै गर्नुभएको छ र केहि निर्माणका काम सुरुवात गराउनु भएको थियो, त्यसलाई तीव्रता दिएर छिटो-छिटो समस्या समाधान सरकारी गैर-सरकारी निजि क्षेत्र र दात्री सस्थांका प्रतिनिधिहरु सवैलाई समन्वयत्मक ढंगले मैले अगाडी अलि तीव्र रुपमा लैजान्छु र मैले अहिलेसम्म सवै क्षेत्रको सहयोग पाएको छु र प्राविधिकहरुले हामीले कार्तिक महिनाभित्र नतिजा आइपुग्छ र मंसिरको मसान्तभित्र उहाँहरु आफ्नो कार्यक्षेत्रमा पुगिसक्नु हुन्छ । त्यसले गर्दा काम तीव्र रुपमा अगाडी बढ्दैछ ।
त्यस्तै यहाँहरुलाई कुनै समस्या गुनासाहरु परे भने यहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासा पठाइ रहनु भन्दा अहिले हाम्रो २८ बुदे घोषणा पत्र जारी गरेको सुचनाको आधारमा स्थानीय तहमा तपाईका समस्या जे जति गुनासा छन् आफ्नो प्रतिनिधिलाई वडा तहमा अथवा गाउपालिका तहमा तपाईले चाहिँ त्यहाँ दर्ता गराउनु होला, उहाँहरुले त्यसलाई समन्वय गरेर त्यहि नै समाधान खोज्नु हुनेछ । उहाँहरुवाट आउन नसकेका कुराको समाधान उहाँहरु र हामी मिलेर समाधान खोज्छौ । बैंक र वित्तीय संस्थाहरुको माध्यमबाट रकमहरु आउछ, यसमा भएका समस्याहरु हटाएर दुई हप्ताभित्र वितिय कारोवार सम्पन्न गराउन सक्ने कार्य वातावरण वनाउन प्रयास गरिरहेका छौ र जिल्लामा पनि जान नपर्ने गराउन सकिन्छ कि भनेर हामी यहाँ प्रयासहरु गरिरहेका छौ, त्यसको सुचना चाडै नै प्रकाशित हुनेछ । त्यसो भएको हुनाले यहाँहरुले घर बनाउन तयार भएर बस्ने अनि घरहरु भूकम्प प्रतिरोधी हुनुपर्छ भन्ने कुरा कहिले पनि नबिर्सन म निवेदन गर्न चाहन्छु ।
७. झन्झटिलो प्राधिकरण ऐनलाई कसरी सरल र सहज बनाउनुहुन्छ ?
प्राधिकरणको काम झन्झटिलो भएपनि मैले यसलाई झन्झटको रुपमा नलिएर एउटा अवसरको रुपमा र मानवीय सेवामा लाग्ने कामको रुपमा मैले लिएको हुनाले यहाँका प्राधिकरण भित्रका कर्मचारी साथीहरु पनि अत्यन्त सहयोगी हुनुहुन्छ । अब अरु संस्थाहरुबाट पनि सवै ठाउँवाट सहयोग पाएको छु, म आफै पनि समस्याहरु फुकाउन सक्छु भन्ने मलाइ लागेको छ ।
८. भूकम्पपीडित मध्ये करिब ८ प्रतिशतले मात्रै घर बनाएका अवस्थामा सरकारले आगामी असारभित्र घर बनाइसक्नुपर्ने बाध्यकारी ब्यवस्था बनाएको छ । कसरी सम्भव छ पुनर्निर्माण ?
बाध्यकारी जुन पहिलेको समितिले गरेको निर्णयको आधारमा आगाडी बढाउने र जेष्ठ मसान्तभित्र सवै सुरक्षित ढाँचामा लग्न सकिन्छ, यसको कमसेकम ६०% भन्दा बढी गर्छौ भन्ने मैले लक्ष्य राखेको छु र शत प्रतिशत मानिसले घर बनाउन या नबनाउन पनि सक्छन ।
जस्तो कि, पाकिस्तानमा ७०%-७५% जति निर्माण भएको छ, हाम्रोमा ८०% सम्म घरहरु बन्न सक्छन जस्तो लाग्छ । कतिपयले पहिले नै भत्किएको ठाउँमा नबनाउने पनि हुन् सक्छन, कोहीका दुई तीनवटा घरहरु हुन्छन, त्यसो भएको हुनाले हामीले यसलाई पुरा गर्न सक्छौ भन्ने मलाई लाग्छ, रहलपहलको हकमा फेरी छुट्टै पनि पछि पुरा गर्न सक्छौ ।
९. प्रचारमुखी नभई काममा केन्द्रित भएर तीन महिनाभित्र देखिने गरी काम गर्छु भन्नु भएको छ । साच्चै आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म पीडितका आँशु पुछिनेछन् होइन त्यसो भए ?
आँशु नै माघ २ गते पुछिन्छ भन्ने होइन ३ महिनाभित्र देखिने काम गर्छु भनेको छु, जसका लागि कार्यक्रम र रणनीति मैले अगाडी सरेको छु ती कार्यक्रमहरुलाई मैले आफ्नो कार्यमा लगाई सकेपछि आ-आफ्नो काम देखिनेछ्न र हिउदको महिना छ, सम्पूर्ण हाम्रा भूकम्प पिडित दाजुभाई दिदिबहिनीहरुले घर बनाउन अग्रसर हुनुहुनेछ र कुनै किसिमको झमेला पर्ने छैन । मौसमले पनि साथ दिने हुनाले फटाफट काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ । त्यसपछि हामी मनसुन सुरु हुनुभन्दा पहिला नै जो घर बनाएर आवासभित्र जान चाहनुहुन्छ उहाँहरु आफ्नो निवासमा प्रवेश गरी सक्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ ।
१०. पुनर्निर्माणमा सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग कसरी सहकार्य गरेर अगाडि बढ्नुहुन्छ ?
म आउदा बितिकै पुर्व कार्यकारी अधिकृत डा.गोविन्द राज प्रोख्रेलको विदाई र मेरो स्वागतको कार्यक्रम संगसंगै भयो र हामीले काठमाडौँमा वसेर मेरा योजनाहरु मैले उहाँहरुलाई सुनाए र उहाँहरुबाट निरन्तरता दिन्छौ केहि ग्राहो छैन भन्ने कुरा उहाँहरुले गर्नुभो, उहाँहरुको सहयोग हामीले पाईनै रहन्छौ र यो प्रमुख कार्यकारी अधिकृत फेरिदैमा आत्तिन पर्दैन कसैले केहि फरक धारणा राख्दैन उहाँहरुले गरिरहेको कामलाई निरन्तरता दिने हो काममा उहाँहरुले भन्दा म बढी तिब्रता दिन्छु भन्ने प्रतिबद्दता जनाएको छ र केहि कुरा साना-तिना संस्थाहरुसंग केहि एक दुई बुँदाहरु छन त्यसको वारेमा छलफल गर्दैछौ ।
११. पुनःनिर्माणको लागि चाहिने प्रयाप्त आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ?
अहिले हामीसंग जति रकम छ, भएको रकम त परिचालन गरेर खर्च गरौ, अनि त्यसपछि रकमको अभाव भएमा नेपाल सरकारले पनि दिन सक्ने हैसियत राख्छ, सरकारवाट पनि हामी सहयोग लिन सक्छौ, भन्ने किसिमको मैले दृढता गरेको छु, किनभने रकमको कारणले काम रोकिने छैन भन्ने विस्वास छ ।
१२. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के शन्देश दिन चाहनुहुन्छ ?
आम नेपाली जनतालाई के निवेदन गर्न चाहन्छु भने नेपाल सरकारले दिने अनुदान स्वरूप दिएको ३ लाख रुपैया खासै ठुलो रकम होइन तापनि सरकारी ठुकुठीवाट यो रकम जाँदा भूकम्प प्रतिरोधी घर बनेको हुनुपर्छ भन्ने हाम्रो पहिलो सर्त हो त्यो सर्त उहाँहरुले पुरा गर्नुपर्छ । प्राविधिकहरुको सल्लाह अनुसार आफ्नो घर जति तला बनाउनुस जस्तो किसिमको बनाउनुस तर त्यो भूकम्प प्रतिरोधी प्रमाणित हुनुपर्छ त्यो प्राविधिकहरुसगँ सल्लाह गरेर गर्नुहोला ।