, शास्त्रअनुसार स्वयं यमराजको पनि भएको थियो मृत्यु, यस्तो छ कारण

शास्त्रअनुसार स्वयं यमराजको पनि भएको थियो मृत्यु, यस्तो छ कारण

कालसँग नडराउने प्राणी विरलै पाइन्छन् । तसर्थ कालका बारेमा कुतूहल हुनु स्वाभाविक हो । हाम्रा शास्त्रले के भन्छन् त यस विषयमा ? भनिन्छ, विधाताले लेख्छन्, चित्रगुप्तले पढेर सुनाउँछन् र हिसाब राख्छन्, यमदूतले समातेर लान्छन् अनि यमराजले दण्ड दिन्छन् , मृत्यको समय मात्र नभई स्थानसमेत निश्चित छ । दस दिशामध्येमा एक दक्षिण दिशामा यमराजको निवासस्थल छ ।

सूर्यदेवका पुत्र हुन् यमराज । त्यस हिसाबले उनका हजुरबुबा ऋषि कश्यप हुन् भने हजुरआमा अदिति। सूर्यदेवका दुई श्रीमती संज्ञा र छायामध्ये विश्वकर्मापुत्री संज्ञाबाट वैवस्वत मनु, यम, यमी, अश्विनीकुमारद्वय तथा रेवन्त जन्मिए भने छायाबाट शनि, तपती, विष्टि तथा सावर्णि मनु जन्मिए ।

वैवस्वत मनु वर्तमान मन्वन्तरका अधिपति हुन् । यमराजको काम समस्त जीवहरूको शुभाशुभ कर्म विचार गरी सोहीअनुरूप त्यसको फल प्रदान गर्नु हो । यमी यमुना नदीकी संरक्षक हुन् । अश्विनीकुमारद्वय देवताक वैद्य हुन् । रेवन्त सदैव आफ्ना बाबुको सेवामा लागेका छन् । शनि ग्रहहरूमध्ये एक हुन्। तपतीको विवाह सोमवंशी राजा संवरणसँग भएको थियो । विष्टि भद्रा नामक नक्षत्र लोकमा छिन् भने सावर्णि मनु आठौ मन्वन्तरका अधिपति हुनेछन् ।

यमराजकी पत्नी देवी धुमोरना हुन् । कतिला यमराज एवं धुमोरनाका पुत्र हुन्। यमराजका सहायक चित्रगुप्त हुन् जो सबै प्राणीको कर्म निगरानी गरी पाप-पुण्यको लेखाजोखा राख्छन् । चित्रगुप्तको खाताको नाम ‘अग्रसन्धानी’ हो जसमा विश्वका प्रत्येक जीवको पापपुण्यको हिसाब राखिएको हुन्छ ।

वेदमा यमराजलाई पितर वा पितृहरूको अधिपति मानिएको छ । उपनिषदमा वणिर्त यम-नचिकेता संवाद आध्यात्मिक रूपले महत्वपूर्ण मानिन्छ । यमराजका लागि पितृपति, कृतान्त, शमन, काल, दण्डधर, श्राद्धदेव, धर्म, जीवितेश, महिषध्वज, महिषवाहन, शीर्णपाद, हरि एवं कर्मकर जस्ता विशेषणको प्रयोग गरिन्छ । पुराणमा उल्लेख भएअनुसार यमराजको रंग हरियो छ भने उनी रातो पहिरन लगाउँछन् । यमराजको वाहन राँगो हो भने उनको हातमा सदैव एक गदा हुन्छ ।

पितर वा पितृहरूका अधिपति यमराजको सहरलाई ‘यमपुरी’ तथा राजमहललाई ‘कालीत्री’ भनिन्छ । यमराज बस्ने सिंहासनको नाम ‘विचार-भू’ हो । महाण्ड एवं कालपुरुष यमराजका अंगरक्षक तथा यमदूत सेवक वा अनुचर हुन् । यमराजको द्वारपालको नाम वैध्यत हो । चार आंखा तथा फराकिलो नाक भएका दुईवटा भयङ्कर कुकुर यमराजको ढोकाका संरक्षक छन् ।

पुराणहरूका अनुसार यमलोक मृत्युलोकभन्दा माथि दक्षिणतर्फ ८६००० योजनको दूरीमा पर्छ । एक योजनमा करिब ४ किलोमिटर हुन्छ । एक लाख योजनमा फैलिएको यमपुरी वा यमलोकको उल्लेख गरूड पुराण तथा कठोपनिषदमा पाइन्छ। यमराजको लोक ज्फ़ संसारलाई यमलोक, संयमनीपुरी तथा पितृलोक भनिन्छ । पितर वा पितृहरूको निवास चन्द्रमा भन्दा माथि मानिएको छ ।

स्मृति ग्रन्थका अनुसार अहिलेसम्म १४ जना यम भएका छन् । ती हुन् – यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त । ‘धर्मशास्त्र संग्रह’ का अनुसार श्राद्धमा १४ यमलाई उनीहरूको नाम लिएर ३/३ अँजुली पानीले तर्पण दिइन्छ । ‘स्कन्दपुराण’ का अनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन घिउको बत्ती बालेर अर्पण गरी यमराजलाई प्रसन्न तुल्याउन सकिन्छ ।

एक पटक स्वयं यमराजको मृत्यु भएको थियो । त्यसको प्रसंग यस्तो छ:

शिवभक्त श्वेतमुनिको मृत्यु समय आएपछि यमराजले मृत्युपाश पठाए । मुनिकहाँ भैरवले पहरा दिइरहेका थिए। उनले मृत्युपाशमाथि प्रहार गरी मूर्छित बनाइदिए । यो देखेर यमराज रिसाए र उनले भैरवलाई प्रत्युपाशमा बाँधे । यस्तो देखेपछि श्वेतमुनिले ईष्टदेव शिवको प्रार्थना गरे । शिवले कार्तिकेयलाई पठाए । कार्तिकेय र यमराजसँग युद्ध गरी उनलाई मारिदिए। जब सूर्यदेवले यी कुरा थाहा पाए, तब उनले शिवजीको स्तुति गरे । सूर्यको स्तुतिबाट प्रसन्न भएका शिवले यमराजलाई पुनस् जीवित तुल्याए ।

यो पनि पढ्नुहोस् :

मनी प्लान्ट घरको कुन दिशा राख्ने ? वास्तुशास्त्र अनुसार यसरी राख्नुहोस्