१४ बैशाख २०८१, शुक्रबार

कसरी छान्ने आफूलाई सुहाउँदो फोन 


असोज २३, काठमाडौँ | आजको समयमा मोबाइल फोन नबोक्ने सायदै कोही होलान्। नेपाल दूरसञ्चारको गत असारसम्मको तथ्यांक अनुसार मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्याको १२९ प्रतिशत अर्थात ३ करोड ४१ लाख पुगेको छ।

आधुनिक यस समयमा मोबाइलको प्रयोग केवल ‘कल’ गर्नमा मात्र सीमित रहेन। मोबाइलप्रति हामी यति धेरै अभ्यस्त भइसकेका छौँ कि यसमा भएको अर्लामको सहायताले नै हामी मध्ये धेरै आफूले रोजेको बिहानी पलमा व्युँझन सकेका छौँ र पुनः त्यही अलार्मलाई भोलि बिहान उठाइदिने जिम्मा दिएर हरेक रात हामी ढुक्कले सुत्न सकेका छौँ।

बिहान उठ्दादेखि राति नसुत्दासम्म हाम्रो दैनिक जीवनको धेरै पल फोनमा आश्रित छ। त्यसैले पनि यति धेरै महत्व राख्ने मोबाइल कस्तो रोज्ने भन्ने कुरामा निकै ध्यान दिनु जरुरी रहेको मोबाइल फोन विक्रेताहरु बताउँछन्। मोबाइलफोन प्रयोगकर्ताले आफ्नो बजेट र प्रयोजनका आधारमा कस्तो फोन किन्ने भनी निर्धारण गर्नुपर्ने बताउँछन् पुल्चोकस्थित प्राइम मोबाइल स्टोरका सञ्चालक सागर गौतम।

गौतम पछिल्लो समय प्रयोगकर्ताहरुले फोन किन्नु भन्दा पहिले त्यसमा भएको फिचर्सहरुको अध्ययन गरेर मात्र नयाँ सेट किन्ने गरेको अनुभव सुनाउँछन्।

विगत १२ वर्षदेखि फोनको व्यापारमा संलग्न गौतम भन्छन्, ‘आजभोलि पहिले जस्तो अवस्था छैन। पहिले विदेशमा भएका आफन्तले जुन फोन पठाउँथँ त्यसैलाई राम्रो मान्ने गरिन्थ्यो तर आजभोलि प्रविधिले ल्याएको सहजताले प्राय मोडलहरु नेपाल भित्रनु अगाडि नै सम्बन्धित फोनका सबै फिचर्स अध्ययन गरिसकेर प्रयोगकर्ताहरु सो फोन किन्ने कि नकिन्ने भन्ने निर्णयमा पुगिसकेका हुन्छन्।’

अर्का मोबाइल फोन विक्रेता पुरुषोतम बस्नेत भने कस्तो फोन आफूलाई सुहाउँदो हुन्छ भन्ने कुरामा धेरैले ध्यान नदिने गरेको बताउँछन्।
मोबाइल फोन विक्रेता संघका अध्यक्ष समेत रहेका बस्नेत भन्छन्, ‘कस्तो मोबाइल छान्ने त भन्ने प्रश्नमा सहज उत्तर आउनुपर्ने हो– प्रयोजन र बजेट। तर आफ्नो प्रयोजनभन्दा ‘सर्कल’ का अन्यले कस्तो फोन बोकेका छन् भन्ने आधारमा धेरैले फोन किन्ने गर्छन्।’

बस्नेत आफ्नो प्रयोजन नै नमिल्ने भएपनि महँगा एन्ड्रोइड फोन वा आइफोन बोक्दा ‘ठूलै मान्छे’ भइने र सस्तो मूल्यमै पनि उपयुक्त हुने फोन बोक्दा हिनता महसुस गर्ने गलत मानसिकताले अधिकांशले फोन किन्ने गरेको सुनाउँछन्।

यद्यपी दुबै जना विक्रेता फोनका बारेमा आम मानिस पहिले भन्दा धेरै सचेत हुँदै गएको बताउँछन्। बजारमा ४० भन्दा बढी ब्राण्डका मोवाइल फोन छन्। तिनका भड्किला विज्ञापनले पनि हामीलाई दोधारमा पार्न सक्छ। त्यस्तै आफ्ना साथीभाई वा सर्कलका मानिसको रुची, प्रयोजनसँग तपाईको रुची, प्रयोजन तथा बजेट नमिल्न सक्छ त्यसैले आफूलाई कस्तो फोन उपयुक्त हुन्छ भनी मोबाइल किन्नुपूर्व ध्यान दिनु निकै बुद्धिमानी हुनेगर्छ।

१.सामान्य प्रयोजन
यदी तपाई मोबाईल फोनको सामान्य प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई सामान्य फोन नै उपयुक्त हुन सक्छ। तपाईं मोबाइल फोनबाट फोन गर्ने, उठाउने, टेक्स्ट म्यासेज, एफएम सुन्न तथा रातको समयमा टर्च लाइटको प्रयोग मात्रै गर्नका लागि हो भने ‘सेम्बियन अपरेटिङ सिस्टम’ भएका बार वा किप्याड फोन नै तपाईंलाई उपयुक्त हुन्छ।

हाल बजारमा १ देखि ४ हजारसम्ममा यस्ता फोनहरु पाइन्छन्। यी फोनमा एक वर्षसम्मको वारेन्टी समेत दिइएको हुन्छ भने यीनको ब्याट्री निकै लामो समयसम्म टिक्छन्।

२.आधुनिक प्रयोजनः
यदि तपाईं सामान्यसँगै फोटो खिच्न, सामाजिक संजाल चलाउन, आफूलाई मन लागेका एपहरु डाउनलोड गरी सेवा लिन, इमेल इन्टरनेट प्रयोग गर्न, हेभी गेम खेल्न, उच्च गुणस्तरका भिडियो हेर्न वा सम्भव भएसम्म मोबाइलबाटै धेरै भन्दा धेरै फिचर्सको उपयोग गरी अधिकतम काम गर्न सकियोस भन्ने चाहनुहुन्छ भने बजारमा ब्राण्ड, विशेषता र उपयोगिता अनुसारका ७ हजारदेखि १ लाखसम्मका मोबाइल फोन उपलब्ध छन्। आफ्नो आवश्यक्ता पहिचान गरी यीनै मध्येका जुनसुकै क्याटेगोरीका फोन तपाईं छान्न सक्नुहुन्छ।

क) औसत फोन
आफ्ना जीवनका महत्वपूर्ण क्षणहरु मोवाइलमा फोटो वा भिडियोमार्फत कैद गर्न चहानुहुन्छ, एपस्टोरमा गई आफूलाई आवश्यक पर्ने एप छान्ने स्वतन्त्रता चाहनुहुन्छ, भाइबर, फेसबुक जस्ता ‘कम्युनिकेशन’ र सामाजिक सञ्जाल चलाउनुहुन्छ भने बजारमा एण्ड्रोइड र विण्डोज अपरेटिङ सिस्टममध्येबाट बजेट क्षमता अनुसारको औसत मोबाइल फोन छान्न सक्नुहुन्छ।

सामान्यतया ५ वा ५.५ स्क्रिन डिस्प्ले, मार्समालो भर्सन, १ वा २ जीबी र्याम, ८ जीबीसम्मको इन्टरनल स्टोरेज तथा मेमोरी कार्ड हालेर क्षमता बढाउन मिल्ने सुविधा, ८ मेगापिक्सेल वा सो भन्दा माथिको रियर तथा ५ मेगापिक्सेल वा सो भन्दा माथिको फ्रन्ट क्यामेरा जस्ता फिचर्स भएका फोनहरु सहज रुपमा चलाउन सकिन्छ।

बजारमा यी भन्दा कम विशेषता भएका फोनहरु पनि उपलब्ध छन् तर तपाईं माथि उल्लेखित प्रयोजनका लागि फोन किन्दै हुनुहुन्छ भने १० देखि २५ हजार रेन्जमा पाइने यी क्षमताका फोन तपाईंलाई उपयुक्त हुन सक्छन्। नेपालमा सबैभन्दा धेरै विक्ने फोन पनि यसै मूल्यका छन्।

ख) शक्तिशाली फोन
शक्तिशाली मोबाइल फोनहरुमा औसत फोनहरुमा भन्दा केही विशेष र बढी सुविधा हुन्छन्। उपभोक्ताका रुची अनुसार यी रेन्जका फोनहरुमा विशेषता राखिएका हुन्छन्। एचडी डिस्प्ले, हाई रेजुलुसन, शक्तिशाली लेन्स प्रयोग गरिएका दुई वा तीन क्यामेराहरु, फोरजी, स्ट्रोङ प्रोसेसर, र्याम तथा ब्याट्री, वायरलेस चार्जिङ, अपडेटेड अपरेटिङ सिस्टम, धेरै खालको सेन्सर भएको, स्ट्रोङ ब्याट्री ब्याकप र कम्पनी अनुसार केही नविनतम र आकर्षक विशेषता यस्ता फोनमा हुने गर्दछ। यस्ता फोनहरुको मूल्य २५ हजारदेखि एक लाखसम्म पर्नेगर्छन्।

अ.फोटोको शौखिनका लागि
तपाईं फोटो खिच्न शौखिन हुनुहुन्छ भने सिँगल वा डुअल रियर तथा धेरै मेगापिक्सलेको सेल्फी क्यामेरा भएका फोन उपलब्ध छन्। त्यस्तै क्यामेरामा प्रयोग भएको लेन्स, अटो फोकस, फेस डिटेक्सन, रेड आई रिमुभल, ड्युअल टोन फ्ल्यास, कम प्रकाश वा बढी प्रकाशमा खिच्ने फोटोको गुणस्तर, फोटो एडिटिङ फिचर, टिएफटी वा आइपिएस डिस्प्ले, फोेरके भिडियो रेकर्डिङ क्षमता भएका मोवाइल फोन बजारमा उपलब्ध भएकाले आफ्नो बजेट अनुकुलको फोन किन्ने गर्नुपर्छ।

आ.गेमिङ र भिज्युअल शौखिनका लागि
यदि तपाईं गेम खेल्न निकै मन पराउनुहुन्छ भने उच्च क्षमताको प्रोसेसर र र्याम भएको फोन उपयुक्त हुन्छ। रुची अनुसार ठूलो तथा हाई रिजोलुसनयुक्त स्क्रिन पनि तपाईं छनौट गर्न सक्नुहुन्छ। अक्टाकोर प्रोसेसर, ४ जिबी सम्मका रयाम् भएका फोन उपयुक्त हुन सक्छन् । यदि तपाईं गेमिङमा वा मोवाइल वा इन्टरनेटमा भिज्युअल हेर्न मन पराउनुहुन्छ भने एलसिडी स्क्रिनमा आइपिस तपाईंलाई उपयुक्त हुनसक्छ।

फुल एचडी देखि फोरके सम्मका रिज्योलुसन भएका स्कृनमा तपाईंले विशेष अनुभव गर्न सक्नुहुन्छ। पछिल्लो समय धेरैले मन पराएको र विशेष क्षमता भएको एमोलेड ५.५ इन्च वा सोभन्दा ठूलो स्कृन भएका फोन छान्न सक्नुहुन्छ भने सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास भएका फोन उपयुक्त हुनसक्छन्। गेमिङ र भिडियोमा रमाउनेहरुले ब्याट्री सकिने समस्याबाट मुक्त रहनका लागि ३ हजार ५ सयएमएएच भन्दा माथि पावर भएका फोन किन्दा उपयुक्त हुन्छ।

ई.प्लस अफिसियल युज
तपाइ दैनिकी अति व्यस्त छ र तपाईंलाई हिँड्दा हिँड्दै पनि आफ्ना केही कार्य मोवाइलबाटै सम्पादन गर्नुपर्ने हुन्छ भने तपाईंले फोन किन्दा ठूलो तथा कर्भड् स्कृन भएको, धेरै क्षमताको र्याम र शक्तिशाली प्रेसेसरवाला फोन उपयुक्त हुन्छ।

तपाईंको व्यस्ततालाई मध्यनजर गर्दै विश्वविख्यात ब्राण्ड एप्पल, सामसुङ, एचटिसी, वन प्लस लगायतका ब्राण्डले ‘स्ट्रोङ’ अक्टाकोर प्रोसेसर, ४ जिवी वा सो भन्दा धेरै क्षमताका र्याम, अपडेटेड अपरेटिङ स्टिम, हाइ रेजुलेसनको भिडियो क्षमता, वायरलेस चार्जिङ, धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फोरके भिडियो, सबैखाले सेन्सरको सुविधा, धेरै समयसम्म टिक्ने सक्ने क्षमता ब्याट्री लगायतका विशेषतावाला फोन सार्वजनिक गरेका छन् ।

त्यस्तै यी मोवाइलमा तपाईंको स्वास्थ्यको ख्याल गर्ने, नोट बनाउने, कार्यसूची तयार पार्ने, सेयर गतिविधी चेक गर्ने, इमेल पुस, शक्तिशाली वाइफाई, शक्तिशाली नेटवर्क लगायतका विशेषता समाविष्ट हुन्छन्।

यस्ता फोनको मूल्य ५० हजारभन्दा माथि पर्नेगर्छ। यदि तपाईं महँगो मोबाइल टेलिफोन बोक्नुलाई सामाजिक प्रतिष्ठाको विषयसँग जोडेर हेर्नुहुन्छ भने पनि यी फोन तपाईंका हात सुहाउँदा हुन सक्छन्।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !