काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’का लागि सम्झौता भएको छ । मङ्गलबार समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।
टेलिकमले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासमा ठूलो योगदान दिएको भन्दै प्रबन्ध निर्देशक पहाडीले एनपीएलमार्फत यो सहकार्य अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरिन् ।
सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले नेपाल टेलिकमको प्रायोजनले थप उत्साह मिलेको र उत्कृष्ट प्रदर्शनका साथ टेलिकमलाई गौरव प्रदान गर्न तयार रहेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलमा ८ टिम प्रतिस्पर्धा गर्दैछन् ।