६ बैशाख २०८१, बिहिबार

कसरी भयो सामसुङ्गको यो विराट स्वरूप


कसरी भयो सामसुङ्गको यो विराट स्वरूप

इतिहास :

सन् १९३८: पश्चिमी अर्थतन्त्र ‘भीषण आर्थिक मन्दी’ (The Great Depression:सन् १९२९-१९३९) बाट थलिएर तंग्रिदै थियो र दोस्रो विश्वयुद्द संघारमा थियो । परिस्थिति विषम थियो अर्थोपार्जनको वा कुनै व्यापारको थालनीको  लागि । तर ली चुल नामक एक कोरियन नयाँ इतिहास कोर्ने सुरमा थिए । यहि वर्ष उनले सानो कम्पनी खोले सामसुङ्ग नामको तत्कालीन सु-दोङ्ग भन्ने ठाउँँमा । यो स्थानीय कम्पनीमा ४० जना कामदार थिए । त्यो बेला नुडल्स उत्पादन गर्थ्यो यो कम्पनीले, पछि चिनीको कारोबार पनि गर्न थाल्यो । र सन् १९५० को अन्त्यतिर इन्स्युरेन्स, सेक्युरिटिज र रिटेलमा पनि यसको आँखा पर्यो ।

सामसुङ्गले साठीको अन्त्यतिर इलेक्ट्रोनिक्सतिर पाइला चाल्यो र सन् १९७० मा १२ इन्चको श्याम-श्वेत टेलिभिजन निकाल्यो । १९८३ तिर पहिलो सामसुङ्ग कम्प्युटर निस्कियो बजारमा, जुन विन्डोज पर्सनल कम्प्युटरभन्दा बर्षौं अगाडी निस्किएको थियो । नब्बेको दशकताका यो कम्पनी अन्तराष्ट्रिय व्यापार मैदानमा खरो उत्रियो । अथक मेहनत र सिकाईको फलको परिणाम हो सामसुङ्गको अहिलेको  सफलता ।

अहिले :

आज हाम्रो दैनिक जीवन अधिकांश सामसुङ्ग उत्पादनले सहज पारेका छन् । जस्तै: टेलिभिजन, कम्प्युटर, स्मार्ट घडी, डिजिटल क्यामेरा, फ्रिज, भान्छाका सामानहरु, मोबाइल चिप्स, सामसुङ्गका विश्वस्तरिय मोबाइल फोनहरु । एउटा कम्पनीको यति विविधिकरण भएकै कारण  सामसुङ्ग आज लोभलाग्दो अवस्थामा पुगेको छ ।

सामसुङ्ग कति ठुलो छ ?

सामसुङ्गको व्यापकता हाम्रो सोचाइभन्दा निकै ठूलो  छ । अब तपाईंहरुलाई विस्मित पार्ने सामसुङ्गका तथ्यहरु यस्ता छन् :

१. सन् १९९३ यता सामसुङ्ग इलेक्ट्रोनिक्स  मेमोरी चिप्स उत्पादन गर्ने विश्वमा सबैभन्दा ठुलो कम्पनी हो  । सुरुमा आइफोन र अरु इलेक्ट्रोनिक्स उपकरणहरुमा सामसुङ्गकै मेमोरी चिप्स प्रयोग गरिएको थियो  । यसको अलावा  सामसुङ्ग सन् २०११ मा सबभन्दा धेरै संख्यामा मोबाइल फोन उत्पादन गर्ने कम्पनी भएको थियो ।

२. कोरियन भाषामा सामसुङ्गको अर्थ ‘तीन तारा’ भन्ने बुझिन्छ । सामसुङ्गका संस्थापकहरु यो कम्पनी विशाल,शक्तिशाली र विविधिकरणमा विश्वाश गर्ने कम्पनी हुनेछ भन्नेमा विश्स्वस्त थिए । सामसुङ्गको लोगोको अर्थ पनि कम्पनीको खुला विचार धारा र बाँकी विश्वसँग सूचना आदानप्रदान गर्नेमा कम्पनी विश्स्वास गर्छ भन्ने हो ।

३. २००६ को अध्धयन अनुसार सामसुङ्ग सबभन्दा ठुलो टेलिभिजन निर्माता भएको थियो र यो कम्पनी सबभन्दा ठुलो एल.सी.डी निर्माता पनि  हो ।

४. यो कम्पनीले २०१४ मा मात्र १४ बिलियन डलर अनुसन्धान र विकाशमा खर्च गरेको थियो । सामसुङ्ग ग्यालेक्सी एस सेरिजको एसको अर्थ सुपर स्मार्ट हो  ।

५. सामसुङ्गसँग चार लाख नब्बे हजार कामदार छन् । यो संख्या एप्पल, गुगल र माइक्रोसफ्ट तीन वटै कम्पनीसँग भएका कामदार जोडेर आउने संख्याभन्दा बढी हो ।

६. सामसुङ्गको कारोबार कोरियाको अर्थतन्त्रको १७% हुन आउँछ ।

७. सामसुङ्गका ८० प्रकारका व्यापारिक संस्थाहरु छन् । यी सबै संस्थाहरु कानुनी र व्यापारिक रूपमा स्वतन्त्र छन् । तर एउटै सिद्धान्तद्वारा बाँधिएका छन् । जस्तै : (क) इञ्जिनियरिङ्ग  र कन्स्ट्रक्सन्सको विभागअन्तर्गत सामसुङ्ग इञ्जिनियरिङ्ग र कन्स्ट्रक्सन्स, सामसुङ्ग ट्रेडिङ्ग र इन्भेस्टमेन्ट र सामसुङ्ग हेवी इण्डस्ट्रिज पर्छन् ।

(ख) इलेक्ट्रोनिक्स विभागअन्तर्गत सामसुङ्ग इलेक्ट्रोनिक्स, सामसुङ्ग इलेक्ट्रोमेकानिक्स, सामसुङ्ग  टेकविन, मिलिटरी आर्म्स, सामसुङ्ग मोबाइल डिस्प्ले, सामसुङ्ग डिजिटल इमेजिंग आदि ।

(ग) फाइनान्सअन्तर्गत सामसुङ्ग लाइफ इन्स्युरेन्स, सेक्युरिटिज आदि ।

(घ) रसायन विभागअन्तर्गत सामसुङ्ग पेट्रोकेमिकल्स, सामसुङ्ग बि. पी. केमिकल्स आदि ।

(ङ) सामसुङ्गले होटेल र रिसोर्टको व्यापार पनि गर्छ ।

(च) सामसुङ्गसँग मेडिकल सेन्टर, अर्थशास्त्र अध्धयन संस्थान,सांस्कृतिक विभाग पनि छन् ।

(छ) सामसुङ्गले गगनचुम्बी भवन पनि बनाउँछ ।

(ज) टेकविन अन्तर्गत सामसुङ्गले  हवाई जहाज, सुरक्षाका उपकरण, हतियार प्रबिधिमा पनि हात हालेको छ । यसका केही रोबोटहरु उत्तर र दक्षिण कोरियाका सिमानामा पनि प्रयोग गरिएको छ ।

(झ) सामसुङ्गले ‘के नाइन’ नामक आर्मी ट्यांक पनि निर्माण गरेको छ, र साथै जेट इन्जिन पनि बनाउने गर्छ ।

आम्दानी :

आम्दानीको हिसाबले सामसुङ्गले २०१४ मात्र ३०५ अर्ब डलर कमाएको थियो जब कि एप्पलको कमाई १८३ अर्ब डलर र गुगलको केवल ६६ अर्ब डलर थियो ।

र अन्त्यमा:

सामसुङ्गसँग हेभी इण्डस्ट्रिजअन्तर्गत संसारकै उत्कृष्ट पानी जहाज निर्माण गर्ने केन्द्र छ ।

कोरियाकै सबैभन्दा ठुलो थिम पार्क पनि सामसुङ्गको अधीनमा  छ । साथै योसँग सामसुङ्ग सिटी भन्ने पनि ठुलो क्षेत्र छ, जसमा केही व्यापारिक संस्थानहरु पनि छन् । पोशाक सामग्री, अत्याधुनिक ड्रोन अनुसन्धान केन्द्र, रोबोटिक्स, थ्री डि प्रिन्टिंग, भर्चुअल रियालिटीको क्षेत्रमा समेत हात हालेको सामसुङ्ग यसरी सम्भव भएका सबै क्षेत्रमा हात हालेको कारण आज अन्तराष्ट्रिय व्यापारिक मन्चमा सगर्व अग्रपंक्तिमा उभिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !