२६ पुस २०८१, शुक्रबार

मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज


स्मार्ट टेलिकम

काठमाडौं । अन्तत : स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्सको म्याद गत चैत मसान्तसम्म मात्र रहेकोले उक्त कम्पनीको लाइसेन्स स्वत: खारेज भएको हो ।

भोलि सोमबार बस्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले औपचारिक रुपमा स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय गर्ने छ । स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेसँगै अब भोलिदेखि नै उक्त कम्पनीलाई आफू मातहत ल्याउन दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिबाना लगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेन्स खारेज भएको हो । फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, नवीकरण बापतको किस्ता, ग्रामीण दूरसञ्चार विकास कोष दस्तुरलगायत राजस्व नतिरेपछि स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेज भएको हो ।

काठमाडौं र पोखरामा फोरजीका साथै अन्य केही स्थानमा टुजीमार्फत करिब २४ लाख ग्राहकहरुलाई सेवा दिइरहेको स्मार्ट टेलिकमको लाइसेन्स खारेजी भएको हो । यसअघि दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको थियो ।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको थियो । अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्त रूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको थियो ।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

सेवा चुस्तदुरुस्त गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !