७ बैशाख २०८१, शुक्रबार

सन्तोषीको हत्या आरोपी सार्वजनिक, बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या


सन्तोषी सुब्बा र सुरेश तिमल्सिना

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ घर भई दक्षिणकाली नगरपालिका-७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो ।

उनी गाडीको सहचालक रहेको खुलेको छ । प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।

​घटनास्थलमा उनले जरबरजस्ती गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए । प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो। महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

काठमाडौं-७ कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर आफूसँगै राखेका थिए । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पक्राउ गरिएको बताउने प्रहरीले उनको संलग्नता नदेखिएको बताइएको छ । उनी धनबहादुरसँग १५/१६ वर्षदेखि बस्दै आएको देखिएको छ ।

शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बा केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । गलाबाट थरीथरीका आवाज निकाल्ने गरेका कारण उनी भइरल भएकी थिइन् ।

उनले दिएको अन्तरवार्ता समेत अहिले युट्युवमा हेर्न सकिन्छ । उनले कोइली, काग, कुखुरा, ढुकुर लगायतको आवाज निकालेको भिडियोहरु सामाजिक सञ्जालमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !