१२ बैशाख २०८१, बुधबार

सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह


तिलाठी फाइल फोटो

राजविराज । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीया सहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उहाँले बताए । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे ।

खाँडो नदी तटवन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ ।

२०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका-४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पुर्याएको थियो । त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ ।

यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुवानमा पर्ने गरेको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !